अख्तियारको ‘स्टिङ अप्रेसन’ को छिनोफानो माघ ८ मा
काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चलाउँदै आएको ‘स्टिङ अप्रेसन’ सम्बन्धी विवादमा सर्वोच्च अदालतले सुनुवाइ सकेको छ।
सर्वोच्चको संवैधानिक इजलासले बुधबार रिट माथिको बहस सकेर निर्णय माघ ८ गते सुनाउने मिति तोकेको छ।
सर्वोच्च अदालतका प्रवक्ता भद्रकाली पोखरेलले संवैधानिक इजलासमा बुधबार बहस सकिएको जानकारी दिए। उनले निर्णय सुनाउनका लागि माघ ८ गते समय तोकिएको बताए।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा, न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वर खतिवडाको संवैधानिक इजलासले उक्त मुद्दा सुनुवाई गरिरहेको छ।
‘रिट निवेदकका तर्फका कानुन व्यवसायीले आफ्नो बहस यसअघि नै गरेका थिए। विपक्षी वकिलहरूको बहस बुधबार सकिएपछि इजलास निर्णय सुनाउने निर्णयमा पुगेको हो’ पोखरेलले भने।
अख्तियारको स्टिङ अप्रेसन रोक्न माग गर्दै अधिवक्ता विष्णुप्रसाद घिमिरेले २०७४ पुस २ गते सार्वजनिक सरोकारको रिट निवेदन दायर गरेका थिए।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणासहित ५ जनाको इजलासले गत वर्ष कात्तिकदेखि यो मुद्दामा सुनुवाइ गरिरहेको छ। उक्त रिटमा पहिलो सुनुवाइ २०७४ पुस ७ गते भएको थियो।
संवैधानिक इजलासले विपक्षीसँग स्टिङ अप्रेसन चलाउनको कारण माग गर्दै छलफलमा बोलाउने आदेश गरेको थियो।
अख्तियारले कार्यविधि बनाएर घुस लिने व्यक्तिमाथि पछिल्लो समयमा आफैं पैसा दिएर स्टिङ अप्रेसन चलाउँदै आएको थियो। सोही अप्रेसनका आधारमा उसले विशेष अदालतमा भ्रष्टाचार मुद्दा पनि दायर गर्दै आएको थियो। अख्तियारले पछिल्लो समय ७० प्रतिशत मुद्दा
‘स्टिङ अप्रेसन’कै भरमा विशेष अदालतमा दर्ता गर्दै आएको छ। विशेष अदालतले केही मुद्दाहरुमा अख्तियारलाई हराउँदै पनि आएको छ।
स्टिङ अप्रेसन गैरसंवैधानिक भन्दै रिटमा खारेजको माग गरिएको छ। अख्तियारले गर्दै आएको यस्तो अप्रेसन संविधानसँग बाझिने दाबी रिट निवेदन गरिएको छ।
मंसिर २४, २०७७ बुधबार १८:३६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।