क्यानडा पठाइदिने भन्दै ठग्ने पक्राउ
काठमाडौं : रोजगारीका लागि क्यानडा पठाइदिन्छु भनी ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा अर्घाखाँची तिलगंगा–१ तल्लोटोलका ४२ वर्षीया रेनुका सारु र भारत पश्चिम बंगाल कलकत्ता बर्दमानका ४९ वर्षीय शेख सम्सुर आलोन छन्।
उनीहरुले सामाजिक सञ्जालमार्फत् चिनजान गरी क्यानडा रोजगारीमा पठाउने विश्वास दिलाई एक जनासँग १४ लाख ठगी गरेको उजुरी परेको महानगरीय अपराध महाशाखाले जनाएको छ।
भिसा लागेको भन्दै नक्कली टिकटसमेत देखाई उनीहरु फरार रहेका थिए। महाशाखामा पीडितले दिएको जाहेरीका आधारमा उनीहरुलाई मंगलबार पक्राउ गरेको महाशाखाले जनाएको छ।
यस सम्बन्धमा आवश्यक कारबाही प्रकृया अगाडि बढाइएको महाशाखाले जनाएको छ।
उनीहरुले क्यानडा रोजगारीको प्रलोभन देखाएर अन्य ३ जना बाट पनि प्रतिव्यक्ति १२ लाखको दरले रकम उठाएको सूचना प्राप्त भएकाले पीडितहरुलाई महाशाखामा उपस्थित हुनका लागि समेत आग्रह गरिएको छ।
मंसिर २४, २०७७ बुधबार १८:१५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।