एआइजी थप्ने निर्णय फिर्ता लिन सरकारलाई निर्देशन
काठमाडौं : संघीय संसदको राज्य व्यवस्था समितिले नेपाल प्रहरीमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)को दरबन्दी थप्ने सरकारको निर्णय तत्काल फिर्ता लिन निर्देशन दिएको छ।
समितिको बुधबार बसेको बैठकले एआइजीको दरबन्दी थप्ने सरकारको निर्णय फिर्ता गर्न सरकारलाई निर्देशन दिएको हो।
समितिको बैठकमा सभापति शशि श्रेष्ठले सम्बन्धित मन्त्रालयको प्रस्तावबिनै एआइजीको दरबन्दी थप्ने मन्त्रिपरिषद्को निर्णय फिर्ता गर्न सरकारलाई निर्देशन दिएकी हुन्।
समिति बैठकमा उपस्थित गृहमन्त्री रामबहादुर थापा बादलले यसबारे कुनै स्पष्ट प्रतिक्रिया नदिए पनि यसबारे आफूले बुझ्ने भन्दै टारेका थिए।
मन्त्रिपरिषद्ले केही दिनअघि एक जना एआइजी र पाँच जना डिआइजी थप्ने निर्णय गरेको थियो। एआइजीको दरबन्दी थप भएको केही दिनपछि डिआइजी विश्वराज पोखरेललाई एआइजीमा बढुवा गर्न सिफारिस गरिएको थियो।
पोखरेललाई एआइजी भए उनी निर्विकल्प आइजी बन्नेछन्। सरकारले पोखरेललाई निर्विकल्प आइजी बनाउन दरबन्दी थपेको भन्दै आलोचना भइरहेको छ।
उपप्रधानमन्त्री ईश्वर पोखरेलले गृहमन्त्रालयको प्रस्तावबिना नै एआइजीको दरबन्दी थप्ने निर्णय गराएका हुन्।
मंसिर २४, २०७७ बुधबार १७:४१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।