शिक्षक श्रेष्ठको हत्याप्रति आयोगद्वारा खेद प्रकट
काठमाडौं : राष्ट्रिय मानवअधिकार आयोगले मोरङको मिक्लाजुङका शिक्षक राजेन्द्रकुमार श्रेष्ठको हत्या घटनाप्रति खेद प्रकट गरेको छ।
आयोगले बुधबार विज्ञप्ति प्रकाशित गरी व्यक्ती हत्या जस्तो गम्भीर अपराधको गटनाप्रति खेद प्रकट गरेको हो।
आयोगका प्रवक्ता एवं सहसचिव डा. टीकाराम पोखरेलद्वारा जारी विज्ञप्तिमा घटनाका दोषीलाई कानूनी दायरामा ल्याउन सरकारसँग मागसमेत गरिएको छ।
घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै आयोगले प्रदेश कार्यालय बिराटनगरबाट घटनाको अनुगमन गरिरहेको जनाएको छ।
‘आयोगलाई प्राप्त नेपाल कम्युनिष्ट पार्टी, मेची–कोसी ब्यूरोको प्रेस वक्तव्य अनुसार उक्त हत्या सोही पार्टीका कार्यकर्ताबाट भएको देखिन्छ। व्यक्ति हत्या जस्तो गम्भीर अपराधका घटनाप्रति आयोग खेद प्रकट गर्दछ।’ विज्ञप्तिमा भनिएको छ।
नेपालको संविधानले सबैलाई विचार तथा अभिव्यक्तिको स्वतन्त्रता र सम्मानपूर्वक बाँच्न पाउने हकको सुनिश्चितता गरेको आंल्याउँदै आयोगले आफ्ना राजनैतिक विचारहरु अभिव्यक्त गर्ने, विना हातहतियार भेला हुने, शान्तिपूर्ण रुपमा प्रदर्शन गर्न पाउने तथा असहमतिहरुलाई शान्तिपूर्वक व्यक्त गर्न पाउने हक पनि प्रत्येक नागरिकलाई संविधानले सुनिश्चित गरेको जनाएको छ।
आफ्ना विचारहरुमा असहमति राख्नेप्रति असहिष्णु भई हत्या–हिंसा नगर्न र प्रत्येक व्यक्तिको जीवनको अधिकारको सम्मान गर्न पनि आयोगले नेपाल कम्युनिष्ट पार्टीलाई आग्रह गरेको छ।
‘कुनै पनि व्यक्तिलाई विचार आस्था र आशंकाको आधारमा स्वेच्छाचारी रुपमा पक्राउ गर्ने र यातना दिने कार्य नगर्न, उक्त घटनामा संलग्न दोषीलाई कानूनी दायरामा ल्याउन तथा पीडित परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन आयोग नेपाल सरकारलाई आग्रह गर्दछ’ विज्ञप्तिमा भनिएको छ।
मोरङको मिक्लाजुङ गाउँपालिका–१ को सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक राजेन्द्रकुमार श्रेष्ठको प्रतिवन्धित नेत्रविक्रम चन्द समूहले मंगबालर बिहान गाउँमै घाँटी रेटेर हत्या गरेको छ।
मंसिर २४, २०७७ बुधबार १५:३१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।