प्रधानाध्यापक हत्याका दोषीलाई कारबाही गर्न माग
काठमाडौं : नेपाल मानव अधिकार संगठनले मोरङमा प्रतिबन्धित नेत्रविक्रम चन्द समूहबाट भएको प्रधानाध्यापक राजेन्द्र श्रेष्ठको हत्याको भर्त्सना गरेको छ।
संगठनले बुधबार विज्ञप्ति जारी गर्दै घटनाको अविलम्ब छानबिन गरी दोषीलाई कानुनको दायरामा ल्याई कारबाही गर्न सम्बन्धित पक्षसँग माग गरेको छ।
विद्रोही समूहका राजनीतिक एवं जायज माग शान्तिपूर्ण, लोकतान्त्रिक एवं सम्वादकै माध्यमबाट सम्बोधन हुने मार्गप्रशस्त रहेका बेला कुनै पनि बहानामा कुनै पनि प्रकारको हिंसाको औचित्य नभएको संगठनको ठहर छ।
मोरङको मिक्लाजुङ गाउँपालिका-१ स्थित सरस्वती आधारभूत प्राथमिक विद्यालयका प्रधानाध्यापक श्रेष्ठको मंगलबार अपहरण गरी १ किलोमिटर टाढा जंगलमा लगेर हत्या गरेका थिए। घटनाको सर्वत्र बिरोध भैरहेको छ।
शव धरान लगियो
श्रेष्ठको शव पोष्टमाटमका लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान लगिएको छ। शवलाई पोष्टमार्टमका लागि धरान पठाइएको मोरङका प्रहरी प्रमुख एसपी सन्तोष खड्काले बताए ।
मंगलबार साँझ नै समूहको मेची–कोशी व्युरो इञ्चार्ज प्रतापले विज्ञप्ति जारी गर्दै घटनाबारे जिम्मेवारी लिएका छन् । पार्टीविरुद्ध सुराकी गरेको आरोप लगाउँदै सम्झाउन जाने क्रममा हतियार लिएर आइलागेकाले घटना भएको उसको दाबी छ।
मंसिर २४, २०७७ बुधबार १४:१९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।