साझा र विवेकशील आज फेरि जुट्दै 

साझा र विवेकशील आज फेरि जुट्दै 
रविन्द्र मिश्र र मिलन पाण्डे (दायाँ)।

काठमाडौं : साझा पार्टी र विवेकशील नेपाली दल आज (बुधबार) फेरि जुट्दै छन्। झण्डै दुई वर्षअघि अलग भएका यी दुई पार्टीबीच आज फेरि एकता घोषणा हुन लागेको हो। 

यसअघि दुई पार्टीबीच २०७४ साउन ११ मा एकीकरण भएको थियो। तर, त्यसको डेढ वर्ष नपुग्दै २०७५ पुस २७ गते दुई पार्टी अलग भएका थिए। 

साझा पार्टीको ट्विटर ह्याण्डलमा पार्टी संयोजक रवीन्द्र मिश्रले सदस्यहरूलाई पठाएको सन्देश पत्र अनुसार दुई पार्टीबीच आज दिउँसो ३ः३० बजे अनलाइनमार्फत पार्टी एकताको घोषणा हुँदैछ। 

कोरोना भाइरस (कोभिड-१९) संक्रमणको महामारीका कारण पार्टी एकीकरणको ‘अनलाइन’ घोषणा गर्ने निर्णय गरिएको संयोजक मिश्रले जनाएका छन्। 

एकीकरणपश्चात पार्टीको नाम ‘विवेकशील साझा पार्टी’ हुने छ। यस्तै, एकीकृत पार्टीको मूल नेतृत्वमा अध्यक्ष र संयोजक रहने व्यवस्था गरिएको साझा पार्टीले जनाएको छ। 

स्रोतका अनुसार पार्टी एकीकरणपछि अध्यक्षमा रविन्द्र मिश्र र संयोजकमा मिलन पाण्डे रहने छन्। पाण्डे विवेकशीलका अध्यक्ष हुन्।  

मंसिर २४, २०७७ बुधबार ११:०८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।