सुदूरपश्चिममा सवारी दुर्घटना : ३ वर्षमा ५६८ को मृत्यु
धनगढी : गत कात्तिक २७ मा बैतडीको पाटन नगरपालिका खोड्पेमा बस दुर्घटना हुँदा ९ जनाले ज्यान गुमाए। त्यसको दुई हप्ता नबित्दै मंसिर ९ गते बैतडीमा अर्काे दुर्घटना भयो। उक्त दुर्घटनामा परि ५ जनाको ज्यान गयो।
त्यसपछि पनि दुर्घटनाको सिलसिला रोकिएन। गत शनिबार (यही मंसिर २० गते) मध्यरातमा डोटी जिप दुर्घटना हुँदा एकै परिवारका ३ सहित ४ जनाको मृत्यु भयो। त्यसको भोलिपल्ट दार्चुलामा ट्रक दुर्घटना हुँदा चालकसहित ३ जनाले ज्यान गुमाउनुपर्याे।
२१ दिनमा भएका यी दुर्घटनाको तथ्यांक विश्लेषण गर्दा सुदूरपश्चिमको सडक जोखिमपूर्ण अवस्था देखाउँछ।
प्रदेश ट्राफिक प्रहरी कार्यालयको दुर्घटनाको तथ्यांक हेर्दा यहाँका सडक ‘मृत्यु मार्ग’ बनिरहेको देखाउँछ। ट्राफिक कार्यालयका अनुसार पछिल्लो ३ वर्षमा ९६४ सवारी दुर्घटनामा परी ५६८ जनाले ज्यान गुमाएका छन्।
प्रदेशमा आर्थिक वर्ष ०७६/०७७ मा २८६ दुर्घटनामा १४३ जनाको मृत्यु भएको थियो। यस्तै, आर्थिक वर्ष ०७५/०७६ मा ३१६ दुर्घटनामा २२३ जना र आर्थिक वर्ष २०७४/०७५ मा २१९ दुर्घटनामा १६६ जनाको मृत्यु भएको थियो।
दुर्घटनामा हजारभन्दा बढी घाइते भएको प्रहरी कार्यालयका प्रहरी निरीक्षक गणेश उप्रेतीले जानकारी दिए। उनका अनुसार चालू आर्थिक वर्षको साउनयता मात्रै प्रदेशमा सवारी दुर्घटनामा परि ५३ जनाको मृत्यु भएको छ।
दुघर्टना न्यूनीकरणका लागि प्रहरीले विभिन्न अभियान थाले पनि प्रभावकारी हुन सकेको छैन।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मुकेशकुमार सिंहले सडकको अवस्था, चालकको लापरवाही, ट्राफिक नियमको उल्लंघन लगायतका कारणले दुर्घटना बढिरहेको बताए।
‘जथाभावी डोजर प्रयोग गरेर धमाधम सडक काटिएका सडकमा सवारीको चाप बढेकाले दुर्घटना बढेको हो,’ उनी भन्छन्।
साथै ट्राफिक नियम उल्लंघन, सवारी ओभरटेक तथा तीव्र गतिलगायत कारणले दुर्घटना बढेको उनको बुझाइ छ।
ट्राफिक प्रहरीले दुर्घटना निम्तनुमा चालकलाई दोष लगाए पनि यातायात व्यावसायीहरू भने सडकका कारण दुर्घटना हुने गरेको भइरहेको बताउँछन्।
सुदूरपश्चिम यातायात व्यवसायी समितिका अध्यक्ष पदम राज सापकोटाले भने, ‘जीर्ण र साँघुरो सडकमाथि सवारी साधनको चाप बढेपछि दुर्घटना बढेको हो।’
मंसिर २४, २०७७ बुधबार ०८:४८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।