प्रतिकारका क्रममा शिक्षक श्रेष्ठ मारिएको विप्लव समुहको दाबी
काठमाडौं : मोरङमा मंगलबार बिहान हत्या गरिएका शिक्षक राजेन्द्र श्रेष्ठको हत्या विप्लव समुहबाटै भएको खुलेको छ।
विप्लव समुहले विज्ञप्ति जारी गरि श्रेष्ठको प्रतिकारका क्रममा ज्यान गएको जनाएको छ। श्रेष्ठको घाँटी रेटेर हात बाँधेको अवस्थामा शव भेटिएको छ।
मिक्लाजुङ गाउँपालिका–१ स्थित सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक श्रेष्ठको घाँटी रेटेर हत्या गरेको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ।
घटनास्थल पुगेका इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक उद्धव पोखरेलले श्रेष्ठको आधा घाँटी रेटिएको र दुबै हात बाँधेको अवस्थामा शव भेटिएको जानकारी दिए।
‘हात अगाडि बाँधेको अवस्थामा शव भेटिएको छ। धारिलो हतियारले घाँटी रेटेजस्तो देखिन्छ’ उनले भने,‘बन्दुक पड्केको आवाज सुनिए पनि श्रेष्ठको शरीरमा गोली लागेको देखिएन।’
शिक्षक श्रेष्ठलाई बिहान सवा ६ बजे घरैबाट विप्लव कार्यकर्ताले अपहरण गरेका थिए।
पाँचथर र धनकुटाको सिमानामा पर्ने मिक्लाजुङ विकट पहाडी क्षेत्रमा विप्लव समूहको गतिविधि बाक्लो हुने गरेको स्थानीय बताउछन्।
शिक्षक श्रेष्ठलाई सुराकीको आरोपमा हत्या गरेको प्रारम्भिक अनुमान छ। प्रहरीले यसबारे अनुसन्धान गरिरहेको जनाएको छ।
श्रेष्ठको हत्यापछि विप्लव समुहले हवाइफायर गरेको हुन सक्ने प्रहरीले जनाएको छ।
मंसिर २३, २०७७ मंगलबार २०:००:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।