सगरमाथाको नयाँ उचाइ आज सार्वजनिक गरिँदै
नापी विभागका सूचना अधिकारी दामोदर ढकालका अनुसार आज दिउँसो १ः४५ बजे कार्यक्रम गरी सगरमाथाको उचाइ सार्वजनिक गरिन लागिएको हो।
नेपालले आफ्नै साधन, स्रोत र जनशक्ति प्रयोग गरी सगरमाथाको उचाइ मापन गरेको हो। दुई वर्ष अघिदेखिको सर्वेक्षणबाट प्राप्त विवरण चीनका समकक्षी प्राविधिक तथा निर्देशक समिति तहमा छलफल गरी सगरमाथाको उचाइ सार्वजनिक गर्न लागिएको विभागले जनाएको छ।
यसअघि सन् १९५४ मा सर्भे अफ इण्डियाले गरेको सगरमाथाको मापनलाई नेपालले मान्यता दिएको छ। त्यतिबेला सगरमाथाको उचाइ ८ हजार ८४८ मिटर मापन गरिएको थियो।
त्यसपछि सन् १९९९ मा अमेरिका र सन् २००५ मा चीनले पनि सगरमाथाको उचाइ मापन गरेका थिए।
‘सगरमाथाको उचाइ अमेरिकाले गरेको मापनमा ८ हजार ८५० मिटर र चीनको मापनमा ८ हजार ८४४ मिटर सुन्नमा आएको थियो,’ सूचना अधिकारी ढकालले भने।
यस पटक सगरमाथाको उचाइ परिवर्तन हुनसक्ने अनुमान गरिएको छ।
मंसिर २३, २०७७ मंगलबार १०:१७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।