इयुको कालोसूचीबाट हट्दै नेपालको हवाई उडान
उडान सुरक्षामा आधुनिक सुरक्षा प्रणालीको अवलम्बन, प्रभावकारी नियमन तथा क्षमतावृद्धिलगायत कारणले नेपालको उड्डयन क्षेत्रमा गरिएको सुधारको प्रशंसा गर्दै इयूले नेपाललाई सुरक्षा सूचीबाट हटाउने सङ्केत गरेको हो।
अन्तराष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ) स्थापना दिवसका अवसरमा विज्ञप्ति जारी गर्दै इयूले नेपालको पछिल्लो समयको सुधारलाई प्रशंसा गरेको छ। यसबाट नेपालमाथि उडान प्रतिबन्ध फुकुवा हुने सङ्केत मिलेको छ।
इयूको चासोअनुरुप नेपाल सरकारले हवाई सुरक्षामा देखिएको चुनौती समाधान गर्न देखाएको प्रतिबद्धता, नेपालको उड्डयन क्षेत्रले सुरक्षामा उल्लेख्य प्रगति तथा नियामक नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) विभाजनसम्बन्धी विधेयक संसद्मा पारित हुने प्रक्रियामा रहेकाले पनि सकारात्मक प्रगति हुने अपेक्षा गरिएको छ।
‘नयाँ हवाई उड्डयन विधेयक संसद्मा दर्ता गराएको सहित नेपालले गरेका सुधारका विषयमा इयू जानकार छ’, विज्ञप्तिमा उल्लेख छ।
नेपालको यस्तो प्रयासले सुरक्षा सूचीबाट हटाउने प्रक्रिया शुरु गर्न सहज हुने इयूले उल्लेख गरेको छ। खासगरी संसद्मा दर्ता भएको विधेयकले सुरक्षा सूचीबाट हटाउन लागू हुने तीन मापदण्ड कार्यान्वयनमा लैजान सकिने पनि इयूले स्पष्ट पारेको छ।
त्यसैगरी हवाई सुरक्षाको प्रभावकारी कार्यान्वयन भए नभएको जानकारी लिन महानिर्देशकसहितको टोलीले नेपालमा भ्रमण गर्ने र नियोगले तयार गरेको प्रस्तावका आधारमा युनियनको हवाई सुरक्षा समितिले सुरक्षा सूचीबाट हटाउन सकिने प्रक्रिया पूरा हुनेछ।
नेपालले हवाई सुरक्षाको समग्र क्षेत्रमा अन्तर्राष्ट्रियस्तरदर राम्रो रहेका सन्दर्भमा इयूको विज्ञप्तिले नेपाल छिट्टै सुरक्षासूचीबाट हट्ने विश्वास बढेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेले बताए। ‘इयूको विज्ञप्ति सकारात्मक छ, ओभरअल सेफ्टीमा हाम्रो उपलब्धि राम्रो छ, नेपालले आफ्नातर्फबाट आवश्यक तयारी गर्नुपर्छ’, उनले भने।
नेपालको हवाई सेवामा प्रश्न उठाउँदै इयूले सात वर्षअघि सन् २०१३ डिसेम्बर ५ तारिखदेखि सुरक्षण सूचीमा राखेको थियो। सोही कारण नेपाली हवाई सेवा प्रदायकलाई उडानमा प्रतिबन्ध लगाइएको थियो।
यसअघि सन् २०१७ आइकाओले नेपाली जहाजलाई चार वर्षदेखि लगाउँदै आएको गम्भीर सुरक्षा चासो सूचीबाट हटाएको थियो।
मंसिर २२, २०७७ सोमबार १५:०३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।