सुर्खेत विमानस्थल विस्तारका लागि छलफल

सुर्खेत विमानस्थल विस्तारका लागि छलफल

नेपाल नागरिक उड्डयन प्राधिकरण, सुर्खेतका प्रमुख उमेशकुमार पन्थीले करिब २५ देखि ३० बिघा जग्गा अधिग्रहण हुने जानकारी दिए। यसबारे प्राविधिक टोलीले विस्तृत अध्ययन गर्न बाँकी रहेको उनको भनाइ छ। 

प्रदेश सरकार र संघीय सरकारबीच यही असोज १५ गते विमानस्थल स्तरोन्नतिका लागि करिब ३०० मिटर जग्गा अधिग्रहण गर्ने सम्झौता भएको थियो। जग्गा अधिग्रहणका लागि कर्णाली प्रदेश सरकार र संघीय सरकारको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ५०–५० प्रतिशत बजेट खर्च गर्ने छन्। यसका लागि प्रदेश सरकारले चालू आर्थिक वर्षमा ५० करोड रूपैयाँ विनियोजन गरेको छ। 

स्थानीयवासीले विमानस्थल विस्तारमा आफूहरू बाधक नभएको तर उचित मुआब्जाको शर्त राखेका छन्। वीरेन्द्रनगर नगरपालिका वडा नम्बर १०, ११ र १२ का बासिन्दाले उचित मुआब्जाको ग्यारेन्टी नहुञ्जेल विमानस्थल विस्तार रोक्ने चेतावनी दिएका छन्। विमानस्थल विस्तारमा सबैभन्दा धेरै जग्गा अमरज्योति नमुना माविको पर्छ।       

स्थानीय रामप्रसाद उपाध्यायले एक अर्ब रूपैयाँ बजेटले विमानस्थल विस्तार गर्न नसकिने बताए। चलनचल्तीको दरभाउभन्दा कम मुआब्जा दिए आयोजना अघि बढ्न नसक्ने भन्दै उनले विद्यालय, क्याम्पसको उचित व्यवस्थापनसँगै जनताले न्यायिकरूपले पाउनुपर्ने मुआब्जा पहिलो सर्त भएको बताए। 

वीरेन्द्रनगर-१२ का वडाअध्यक्ष लोकप्रसाद चालिसेले प्रदेश र संघीय सरकारले स्थानीयको न्यायोचित व्यवस्थापन र मुआब्जाका विषयमा स्पष्ट योजना ल्याउनुपर्ने बताए। 

हाल १ हजार २५५ मिटर रहेको विमानस्थलको धावनमार्ग करिब १ हजार ५०० मिटर पुर्याइने छ। सुर्खेत विमानस्थल साँघुरो हुँदा ४८ सिटे जहाज मात्र उडान र अवतरण हुन्छ। 

विमानस्थल विस्तार भए ७२ सिटे जहाज अवतरण हुने बताइएको छ। 
 

मंसिर २२, २०७७ सोमबार ०९:३७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।