हुलाकी राजमार्ग : सप्तरीदेखि झापासम्मको ४८ प्रतिशत काम सकियो
हुलाकी राजमार्गअन्तर्गत सप्तरीदेखि झापाको भद्रपुरखण्ड ३४३ किलोमिटर छ। आयोजना प्रमुख दीपेन्द्र पाण्डेका अनुसार सप्तरीदेखि भद्रपुरसम्मको हुलाकी राजमार्गको करिव ४८ प्रतिशत काम सम्पन्न भइसकेकाले बाँकी काम दुई वर्षमा सम्पन्न गर्ने योजना छ। चालु आर्थिक वर्षमा पुलहरूको काम सम्पन्न गर्ने र दुई वर्षमा सडक निर्माण सम्पन्न गरिने पाण्डेले जानकारी दिए।
प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेलाई हुलाकी राजमार्गअन्तर्गत झापाको ८ र मोरङको रतुवामाईमा रहेको १ पुलको लागि टेण्डर भइसकेको बताए।
रंगेलीको केही स्थानमा डिजाइन अनुसार निर्माण नभएको र विराटनगरमा कोशी राजमार्ग पूर्व–पश्चिम राजमार्गमा जोड्नका लागि समस्या भएको पाण्डेको भनाइ छ। हुलाकी राजमार्गलाई कुन सडकबाट जोड्नेबारे समस्या भएको उनले बताए। विराटनगरमा आयोजित एक कार्यक्रममा ६ किलोमिटर सडकमा समस्या भएकाले टेण्डर हुन नसकेको आयोजना प्रमुख पाण्डेले मन्त्री घिमिरेलाई जानकारी गराए।
सामाजिक विकासमन्त्री घिमिरेले निर्धारित समयमै काम सकेर राजमार्ग सञ्चालन गर्न आयोजना प्रमुखलाई निर्देशन दिए। उनले सडक निर्माणका समस्या समाधानका लागि प्रदेश सरकारले पनि पहल गर्ने बताए। ‘हुलाकी सडकको चर्चा धेरै भए पनि निर्माणले गति लिएको छैन,’ घिमिरेले भने, ‘निर्धारित समयमै काम सक्नुस्।’
मन्त्री घिमिरेले डिभिजन सडक कार्यालयका प्रमुख पशुपति ज्ञवालीसँग पनि मोरङ–सुनसरीका पुलको अवस्थाबारे पनि जानकारी लिएका छन्।
ज्ञवालीले चालु आर्थिक वर्षमा करिव १० वटा पुल निर्माण सम्पन्नको चरणमा रहेको बताए। पुल निर्माणका लागि आवश्यक बजेट विनियोजन नहुँदा निर्धारित समयमा काम पूरा हुन नसकेको उनको भनाइ छ।
मंसिर २२, २०७७ सोमबार ०८:४६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।