रोजगारीमा जान भिजिट भिसा दुरुपयोग गर्ने बढे

रोजगारीमा जान भिजिट भिसा दुरुपयोग गर्ने बढे

कोभिड १९ कारण विदेशमा रोजगारी गुमाउनेको संख्या बढी रहेका बेला भिजिट भिसामा पठाई श्रममा लगाउनेलाई सरकारले कडा कारवाई गर्ने भएको छ। 

वैदेशिक रोजगार बिभागले नियोगबाट मागपत्र प्रमाणिकरण गरी पूर्वस्वीकृती नलिई श्रमिक छनोट र भर्ना प्रक्रिया भइरहेकामो आपत्ती जनाएको छ। 

विभागका महानिर्देशक कुमारप्रसाद दाहालले युएई लगायतका खाडी मुलुकका केही देशमा आर्कषक तलब सुविधाको प्रलोभन देखाई विभिन्न व्यक्ति र संस्थाले भिजिट भिसामा रोजगारीका लागि व्यक्ति पठाइरहेको गुनासो आएको बताए। 

‘सरकारको स्वीकृतीबिना वैदेशिक रोजगारीमा पठाउने कार्य रोक्न पहिलो चरणमा सचेत गराउने काम भइरहेको छ’ उनले भने, ‘यस प्रकारको गैरकानुनी प्रक्रिया र बाटो प्रयोग गरी भिजिट भिसामा रोजगारीका लागि पठाउने कार्य रोक्न अनुरोध समेत गरिएको छ।’

विभागले यसअघि श्रम स्वीकृती नलिई छनोट प्रक्रिया शुरु गरेको जनाउदै आधा दर्जन मेनपावर कम्पनीलाई समेत कारवाई गरिसकेको छ। 

भिजिट भिसामा गई काम गर्दा श्रमिकलाई शारिरीक, मानसिक हिंसा, कानुनी अधिकारबाट बञ्चित हुने जनाउदै नजान अनुरोधसमेत गरेको छ। 

खाडीका अन्य देशको तुलनामा युएईमा भिजिट भिसामा गई रोजगारी गर्नेको संख्या बढदै गएर अलपत्र पर्ने गरेका छन्।

विगत लामो समयदेखी भिजिट भिसा नेपाली जाने गरेपनि यसको व्यवस्थापन गर्न सकिएको छैन।

भिजिट भिसामा जाने नेपालीलाई अध्यागमन विभागले सोधपुछ गर्ने भएपनि श्रम गर्न गएको भन्ने प्रमाण नदेखिने भएका कारण कारवाई अघि बढाउन सकेको छैन। 
 

मंसिर २१, २०७७ आइतबार १८:३२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।