नेकपा विवाद : दुबै अध्यक्षका प्रस्ताव अध्ययन गर्न एक हप्ताको समय
काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटी बैठक मंसिर २८ गतेसम्मका लागि स्थगित भएको छ।
प्रधानमन्त्री एवम् अध्यक्ष केपी शर्मा ओलीको अनुपस्थितिमा आइतबार पार्टी मुख्यालयमा बसेको बैठकले २८ गते फेरि छलफल गर्ने गरी स्थगित गरिएको हो।
बैठकले अध्यक्ष ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालद्वारा यसअघि सचिवालयमा पेस गरिएका राजनीतिक प्रस्ताव अध्ययन गर्न २८ गतेसम्मका लागि समय दिएको छ।
डेढ घण्टाभन्दा बढी सम्बोधन गर्दै बैठकमा दाहालले प्रधानमन्त्री ओलीको आलोचना गरेका थिए।
बैठकमा अनुपस्थित भए पनि अधयक्ष ओलीले आफ्नो तर्फबाट पत्र पठाएका थिए। बैठकमा उक्त पत्र उपप्रधानमन्त्रीसमेत रहेका स्थायी कमिटी सदस्य ईश्वर पोखरेलले वाचन गरेका थिए।
उक्त पत्रमा आफ्नो पूर्वअडानअनुसार दाहालको प्रस्ताव फिर्ता हुनुपर्ने नै उल्लेख छ।
यस्तै नेकपा केन्द्रीय कमिटीको बैठक पुस ५ गतेका लागि सारिएको छ। यसअघि केन्द्रीय कमिटीको बैठक मंसिर २५ गतेका लागि डाकिएको थियो।
दाहालले पेश गरेको आरोपसहितको प्रस्ताव फिर्ता लिनुपर्ने अडानमा ओली पक्ष छ।
मंसिर २१, २०७७ आइतबार १५:५५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।