गौतम र प्रधानमन्त्रीका सल्लाहकारहरुको दोहोरी
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले वामदेव गौतमको फोटो सामाजिक सञ्जालमा राखेर टिप्पणी गरेपछि गौतमका प्रेस सल्लाहकार विश्वमणी सुवेदी र थापाबीच सामाजिक संजालमा दोहोरी चलेको छ।
थापाले आइतबार बिहान गौतमको फोटो फेसबुकमा राखेपछि गौतमका प्रेस सल्लाहकार सुवेदीले थापालाई साढेँको संज्ञा दिँदै विभिन्न आरोप लगाएका छन्।
सामाजिक सञ्जालमा टिप्पणी गर्दै सुवेदीले भनेका छन्, ‘सूर्य थापा भन्ने केटो, जसको काम–पेशा भन्नु नै दलाली, चाकडी र अर्काको हुर्मत लिनु हो। त्यसले नेकपा उपाध्यक्ष क.वामदेव गौतमको ७ वर्ष पुरानो फोटो हालेर उहाँमाथि एउटा संक्षिप्त, तर गम्भीर टिप्पणी गरेको छ।
यस्तो छ सुवेदीको फेसबुक स्टाटस
साथीहरु,
सूर्य थापा भन्ने केटो, जसको काम–पेशा भन्नु नै दलाली, चाकडी र अर्काको हुर्मत लिनु हो। त्यसले नेकपा उपाध्यक्ष क।वामदेव गौतमको ७ वर्ष पुरानो फोटो हालेर उहाँमाथि एउटा संक्षिप्त, तर गम्भीर टिप्पणी गरेको छ। उक्त फोटोमा कुनै हतारोको समयमा असावधानीपूर्वक बाटो काटिएको देखिन्छ। जसप्रति उहाँले तत्कालै क्षमा मागिसक्नुभएको छ। सवाल फोटोको होइन, मुलुकका प्रधानमन्त्रीको प्रेस सल्लाहकारको बिल्ला भिरेर पार्टी उपाध्यक्षका विरुद्ध सामाजिक सञ्जालमा टिप्पणी लेख्ने नियतको हो। सूर्य थापा को हो, जसले पार्टी उपाध्यक्षदेखि उसलाई मन नपरेका नेताबारे भनेकै बेलामा, भनेकै भाषा–शैलीसहित गाली गलौज गर्न पाउने ? पार्टीको केन्द्रीय सदस्यले नेताविरुद्ध जहाँ पनि, जसरी पनि टिप्पणी गर्न पाउने अधिकार कहाँबाट पायो ? ०७४ को चुनावमा वामदेवलाई हराउन मतियारी गरेका आधार, प्रमाणसहित पार्टीमा उजुरी परेको छ। त्यसउपर कारवाही हुनुपर्छ भन्ने पुरानै माग फेरि फेरि दोहोरिने नै भयो। तर, त्यस्तो मान्छे प्रधानमन्त्रीको सल्लाहकार बनाएर राखिएको छ। यो सरकार अलोकप्रियता हुनु, प्रधानमन्त्रीमाथि अवाञ्छित टिप्पणी हुनुको ठूलो हिस्सा त्यही सूर्यले ओगटेको छर्लङ्ग छ। कहिले ट्वीटर ह्याण्डलबाट प्रधानमन्त्रीलाई बद्नाम बनाउने, कहिले विभिन्न व्यक्तिमाथि टिप्पणी गर्दै प्रधानमन्त्रीलाई आलोचित बनाउने, दिनरात विभिन्न नियुक्तिका बार्गेनिङ चलाएर दलाली गर्ने र प्रधानमन्त्रीप्रतिको दृष्टिकोण खराब बनाउने यस्ता घटिया मान्छेलाई त्यो सम्मानित दर्जामा किन राखिएको हो ? यस्ता प्रश्न उठ्छन् नै। अनि, आफूबारे प्रश्न उठ्यो भनेर नेताविरुद्ध सामाजिक सञ्जालमा विष वमन गर्ने कि प्रश्नका जवाफमा लाग्ने ?
प्रिय मित्रहरु,
खासमा यो सूर्य थापा भनेको कुनै संगठन प्रणालीबाट विकास भएर आएको नेता होइन। जनताको बीचमा कार्यक्षेत्र बनाएर आजसम्म काम गरेको छैन। काठमाडौं आउँदा (०४९ सालतिर) सरस्वती क्याम्पसको पढाई खर्च धान्नका लागि कांग्रेससम्बद्ध पुनर्जागरण पत्रिकामा जागिर खाएर टेपरेकर्ड काण्ड लागेको मान्छे। ०५१ मा मनमोहन सरकार बनेपछि गोरखापत्रमा जागिर खान दौडिएर नसकेपछि दृष्टिमा भर्ति भएको र त्यसपछि पार्टी अफिसको जागिर खाँदै नेताको चाकडी बजाएको भरमा अहिले केन्द्रीय सदस्यसम्म भएको मान्छे हो। पार्टीको मुखपत्र नवयुग मुद्रणमा भएको घोटाला काण्ड फेरि पनि खोतलियोस्। हामी पार्टीलाई लेबी तिर्छौ, यो केटाले तलबले नपुगेर चोरेर खान पनि भ्यायो। अखिलको क्याम्पस प्राकमा सचिवसम्म भएको मान्छे त्यसपछि कहिल्यै पनि समुदायको बीचमा राजनीति नगरी कम्युनिष्ट पार्टीको केन्द्रीय सदस्य बन्नु आफैँमा आश्चर्यको विषय हो। माधव नेपाल शक्तिमा आए उनैको भक्ति, झलनाथ आए उनैको, अहिले केपी ओली हुँदा फेरि तिनैको फेरो समातेर नेतालाई मनलाग्दी लेख्दै भन्दै हिँड्न पाउने यो साँढेलाई तह लगाइयोस् भन्ने माग थुप्रै कार्यकर्ताले गर्नु स्वाभाविक पनि छ।
यसबाहेक यो मान्छेका अरु व्यक्तिगत स्वभावका टिप्पणी नगरौँ। हामी उसले नेताहरुलाई बद्नाम गर्ने धन्दा चलायो भन्ने नाममा उसका निकृष्ट व्यक्तिगत चरित्रतर्फ जाँदैनौं। मात्रै, यस्ता मान्छेलाई सम्मानित दर्जाबाट मुक्ति दिलाए पार्टी र सरकारको इज्जत बच्ने थियो।
मंसिर २१, २०७७ आइतबार १३:४६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।