कार दुर्घटनामा एकको मृत्यु
भक्तपुर : मध्यपुरथिमि नगरपालिका–३ कौशल्टारको छ लेन सडकमा कार दुर्घटना हुँदा एक युवतीको मृत्यु भएको छ।
दुर्घटनामा परी तीन जना घाइते भएका छन्। भक्तपुरबाट काठमाडौंतर्फ जाँदै गरेको बा८च ४७५६ नंको कार राति पौने बजे कौशलटारको बीच सडकको फलामे रेलिङ भाँच्दै सडक छेउमा रहेको सिमेन्टको खम्बामा ठोकिइ पल्टिएको थियो।
दुर्घटनामा कारमा सवार काठमाडौं महानगरपालिका–४ बूम्रबराही पीपलबोट बस्ने ३० वर्षीया रिया श्रेष्ठको मृत्यु भएको छ।
चार जना सवार उक्त कार अनियन्त्रित भइ दुर्घटना भएको प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए।
उनले घटनाबारे जानकारी पाएलगत्तै घटनास्थल पुगेर घाइते श्रेष्ठलाई उपचारका लागि मध्यपुर अस्पताल पुर्याइएको बताए। घाइते श्रेष्ठको अस्पताल पुर्याउँदा चिकित्सकले मृत्यु भइसकेको जनाएका थिए।
घटनापछि फरार रहेका कारका चालक मध्यपुरथिमि–१ लोकन्थली बस्ने २६ वर्षीय रञ्जित कार्कीलाई प्रहरीले बिहान नियन्त्रणमा लिई अनुसन्धान अगाडि बढाएको उनले जानकारी दिए।
सोही कारमा सवार मध्यपुरथिमि–५ राधेराधे बस्ने २६ वर्षीय विजय देउजा र सूर्यविनायक नगरपालिका–४ दधीकोट गाम्चा बस्ने २७ वर्षीय सुदीप थापालाई घटनाबारे प्रहरीले सोधपुछ गरिरहेको छ।
दुर्घटनापछि कारमा सवार ती तीन जना नै घाइते युवतीको अवस्था हेरेर मृत्यु भएको भन्दै छाडेर फरार भएका थिए।
प्रहरीले खोजी गर्ने क्रममा बिहानै नियन्त्रणमा लिई अनुसन्धान अगाडि बढाइएको जनाइएको छ। दुर्घटनामा कार भने पूर्ण क्षति भएको छ।
मंसिर २१, २०७७ आइतबार १२:५९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।