‘को कस्तो ? तस्बिर काफी छ’

‘को कस्तो ? तस्बिर काफी छ’

काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष बामदेव गौतमले शनिबारको सचिवालय बैठकमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापालाई हटाउन माग गरे।

बैठकमा उपाध्यक्ष गौतमले बैठकमा भने, ‘प्रधानमन्त्रीज्यू, सूर्य थापालाई कारबाही गर्नुस्, उनले प्रशंसा गरेजस्तो गरेर सिध्याइदिन्छन्।’ 

गौतमले थापालाई हटाउन माग गरेको भोलिपल्टै थापा गौतमविरुद्ध खनिएका छन्।

गौतमले सडकमा डिभाइडर नाघ्दै गरेको तस्बिर सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गरेका छन्। 

नेकपाभित्र विवाद चुलिएका बेला  आइतबार बिहान थापाले केही वर्षअघि  भाइरल भएको उक्त तस्बिर पोष्ट गर्दै क्याप्सन लेखेका छन्  ‘ को कस्तो ? तस्बिर काफी छ।’

नेकपाका केन्द्रीय सदस्यसमेत रहेका थापाले उपाध्यक्षको त्यस्तो फोटो राखेपछि सामाजिक सञ्जालमा  थापाविरुद्ध गालीको वर्षा भएको छ।

थापाले राखेको फोटोको कमेन्टमा वामदेव शैलीको विरोध गर्नेहरू पनि छन् तर, अधिकांशले थापालाई गाली गरेका छन्।

गौतम र थापा दुबै प्युठानका हुन्। उनीहरूबीचको सम्बन्ध २०७४ को निर्वाचनपछि बिग्रिएको हो।

२०७४ को निर्वाचनमा आफू बर्दिया क्षेत्र नम्बर १ बाट पराजित हुनुमा थापा पनि जिम्मेवार रहेको भन्दै वामदेवले पार्टी कार्यालयमा उजुरी नै दिएका थिए। काठमाडौंमा बसेर आफ्नाविरूद्ध बर्दियाका कार्यकर्ता भड्काएको उनको आरोप थियो।

थापाले फेसबुकमा राखेको फोटो सुशील कोइराला नेतृत्वको सरकारमा  वामदेव उपप्रधानमन्त्री एवम् गृहमन्त्री हुँदा रत्नपार्कमा डिभाइडर नाघ्दै गर्दा खिचेको फोटो हो। 

पछिल्लो समय थापाले अर्का अध्यक्ष पुष्पकमल दाहाल पक्षले सचिवालयमा पेश गरेको राजनीतिक प्रतिवेदनको कडारुपमा विरुोध गरिरहेका छन्।

नौ सदस्सिय नेकपाको सचिवालयमा गौतम दाहाल पक्षमा छन्।
 

मंसिर २१, २०७७ आइतबार १२:४१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।