दुवै अध्यक्षको प्रतिवेदन स्थायी कमिटीमा छलफल गर्ने सहमति

दुवै अध्यक्षको प्रतिवेदन स्थायी कमिटीमा छलफल गर्ने सहमति

काठमाडौं : सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले सचिवालयको बैठकमा पेस गरेको प्रतिवेदन स्थायी कमिटीमा छलफल गरिने भएको छ।

शनिबार बसेको सचिवालयको बैठकले दुवै प्रतिवेदन स्थायी कमिटीमा छलफल गरिने निर्णय भएको प्रवक्ता नारायण काजी श्रेष्ठले जानकारी दिए। सचिवालय बैठकले स्थायी कमिटीको बैठक आइतबार दिउँसो १ बजे पार्टी कार्यालय धुम्बाराहीमा बस्ने पनि तय गरेको श्रेष्ठले बताए।

अध्यक्ष दाहालले गत कात्तिक २८ गतेको सचिवालय बैठकमा प्रधानमन्त्रीसमेत रहेका  अध्यक्ष ओलीविरुद्ध गम्भीर आरोपसहितको प्रतिवेदन पेश गरेका थिए। त्यसको जवाफस्वरुप ओलीले मंसिर १३ गतेको सचिवालय बैठकमा प्रतिवेदन पेश गरेका थिए।

ओली पक्षले दाहालको प्रस्ताव फिर्ता लिएर माफी माग्नुपर्ने बताएका थिए। शनिबारको सचिवालय बैठकमा पनि   ओलीले सोही आशयको प्रस्ताव राखेका थिए। तर बहुमत पक्षले अस्वीकार गरेपछि उनी स्थायी कमिटीमा छलफल गराउन बाध्य भएका हुन्।

शनिबार सचिवालय बैठक बस्नुअघि दुई अध्यक्षबीच केहीबेर एक्लाएक्लै छलफल भएको थियो। 'अध्यक्षहरुको बीचमा आज छलफल भयो। छलफल पार्टीको स्वाभाविक रुपमा समस्या र समाधानमा नै केन्द्रित थियो। तर आजकै छलफलले कुनै निष्कर्ष निकाल्न सम्भव पनि थिएन।', प्रवक्ता श्रेष्ठले भने।
उनीहरुबीच गत कात्तिक २५ गतेपछि शनिबार मात्रै एक्लाएक्लै छलफल भएको हो।
नेकपाको केन्द्रीय कमिटीको बैठक मंसिर २५ गतेका लागि बोलाइएको छ।

मंसिर २०, २०७७ शनिबार १७:४७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।