हुम्लामा जिप दुर्घटना : चारको मृत्यु, सात घाइते

हुम्लामा जिप दुर्घटना : चारको मृत्यु, सात घाइते
दुर्घटनाग्रस्त जिप। तस्बिर : जिल्ला प्रहरी कार्यालय, हुम्ला

काठमाडौं : हुम्लाको सिमकोट गाउँपालिका–७ डाँडाफयाको जबुका नजिकै जिप दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। 

जिल्ला प्रहरी कार्यालय, हुम्लाका अनुसार हेप्काखोलाबाट बिरामी बोकेर सिमकोटतर्फ गइरहेको लु२च २१०२ नम्बरको जिप शुक्रबार राति पौने ११ बजे दुर्घटनाग्रस्त भएको हो। 

दुर्घटनामा परी ज्यान गुमाउनेमा सिमकोट गाउँपालिका–७, का ३० वर्षीय पर्वत सुनार, सोही गाउँपालिका वडा नम्बर २ का २९ वर्षीय पारस बोहरा, नाम्खा गाउँपालिका–१, हेप्काका ४५ वर्षीया दुखी तामाङ र ४८ वर्षीय गुरु तामाङ रहेको प्रहरीले जनाएको छ। 

दुर्घटनामा परी घाइते हुनेहरुको हुम्लास्थित जिल्ला अस्पतालमा उपचार भइरहेको छ। 

जिप मूल सडकभन्दा करिब ६०० मिटर तल खसेको हो।

दुर्घटनामा घाइते र ज्यान गुमाएकाहरुको नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयवासीले उद्धार गरेका थिए। 

मंसिर २०, २०७७ शनिबार ०८:००:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।