सामाजिक सुरक्षा योजनामा ४ वटा सुविधा थप
काठमाडौ : योगदानमा आधारित सामाजिक सुरक्षा योजना अन्तर्गत योगदानकर्ताका लागि ४ वटा सुविधा थप गरिएको छ ।
सामाजिक सुरक्षा कोषले योगदानकर्ता विशेष सापटी, आवास निर्माण सापटी, शैक्षिक सापटी र सामाजिक कार्य सापटी ल्याएको जनाएको छ।
कोषका कार्यकारी निर्देशक कपिलमणी ज्ञवालीले श्रमिक सहयोग कार्यक्रमसहित कोष निश्चित रकम नाफामुलक क्षेत्रमा समेत लगानी गर्ने बताए।
एनले कर्जा तथा लगानीका क्षेत्रहरुमध्ये श्रमिकको सामाजिक सुरक्षालाई मध्यनजर गर्दै योगदानकर्ता सापटी अन्तर्गत योगदान रकमको आधारमा वित्तीय आवश्यकता पुरा गर्न योगदानकर्ता विशेष सापटी योजना शुरु भएको बताए।
यसैगरी श्रमिकलाई आवास निर्माणका निम्ति घर सापटी, मानव पूँजी निर्माणमा सहयोग पुर्याउने योजनासहित शैक्षिक सापटी तथा श्रमिकको भैपरी आउने कार्यकालागि सामाजिक कार्य सापटी योगदानकर्ताले प्राप्त गर्न सक्ने व्यवस्था समेत थप गरिएको छ।
त्यस्तै परियोजना कर्जा अन्तर्गत जमानत कर्जा, संस्थागत कर्जा तथा सहवित्तीयकरण कर्जा रहेका छन्।
त्यसैगरी लगानीका अन्य क्षेत्रहरुमा सरकारी ऋण पत्रमा लगानी, मुद्दती निक्षेपमा लगानी, शेयरमा लगानी, डिवेन्चरमा लगानी, म्युचुअल फण्डमा लगानी तथा स्थिर सम्पत्तिमा लगानी गरी लगानीका क्षेत्रहरु पहिचान गरिएको छ।
यसका लागि सामाजिक सुरक्षा कोषले हालै लगानी कार्यबिधी २०७७ समेत स्वीकृती गरेको छ। योगदानकर्ता सापटी अन्तर्गत योगदान रकमको आधारमा समितिले तोकेको मापदण्ड अनुसार योगदानकर्ता विशेष सापटी धितोमा आधारित भएर योगदानकर्तालाई घर निर्माण गर्न सहयोग गरिने छ।
घर खरिद गर्न, संयुक्त आवासमा यूनिट खरिद गर्न वा आफ्नो स्वामित्वमा रहेको घरमा तला थप्न तथा मर्मत गर्नको लागि ७५ लाख वा १५ वर्षको तलव रकम जुन कम हन्छ सोही बराबर घर सापटी धितोमा नै आधारित दिने जनाईएको छ।
योगदानकर्ता आफै वा निजको पति वा पत्नी, छोरा, छोरीको लागि स्वदेश वा बिदेशमा उच्च शिक्षा अध्ययनको लागि शैक्षिक सापटी ३५ लाख रुपैयासम्म योगदानकर्ताले भैपरी आउने सामाजिक कार्यको लागि.५ लाख सम्मको सामाजिक कार्य सापटी कोषवाट प्राप्त गर्न सकिनेछ। तर, सामाजिक कार्य सापटी अन्य कोषबाट स्वाप गर्ने प्रयोजनको लागि मात्र लागू हुने जनाईएको छ।
योगदानकर्ता विशेष सापटीबाहेक अन्य सबै सापटीको कूल योग रु १ करोड वा १५ वर्षको तलव बराबरको रकममध्ये कम हने रकम सीमा भित्र रही धितोले थामेसम्म र कर्जा भुक्तानीको आधारमा प्रर्याप्त भएको हुनुपर्ने छ। सापटीका निम्ति कोषमा कम्तिमा ३ वर्षसम्म लगातार योगदान गरेको हुनुपर्ने छ।
मंसिर १९, २०७७ शुक्रबार १८:०५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।