सौरभ र सुरजले गरे समलिङ्गी विवाह  

सौरभ र सुरजले गरे समलिङ्गी विवाह  

ललितपुर : सौरभ तामाङ र सुरज क्षेत्रीले समलिङ्गी विवाह गरेका छन्।

परिचय समाजको कार्यालय ललितपुर कुपण्डोलमा रहेको कार्यालय पुरोहितबाट सौरभ र सुरजले विवाह गरेका हुन्। सौरभकी आमा विनिता तामाङले सुरजलाई बुहारीको रुपमा स्वीकार गरेकी छन्। 

दुई बर्ष अगाडि फेसबुकमार्फत पहिलो कुराकानी भएर विवाह गर्ने निष्कर्षमा पुगेको सौरभ र सुरजले बताए। पुरुष पुरुष (केटाकेटा) बीच वैवाहिक कार्यक्रम नै गरेर विनिताले छोराको सन्तुष्टीमा आफु खुशी रहेको बताइन। विवाहित जोडीले आफु जस्ता समलिङ्गी पुरुषलाई लुकेर नबस्न आग्रह गरे। 

समलिङ्गी विवाहको कानून बनेपछि विवाह दर्ता गर्ने तयारीमा रहेको विवाहित जोडीले बताए। 

सर्वोच्च अदालतले २०६४ पुस ६ गते दिएको आदेश अनुसार बनेको  समलिङ्गी विवाह अध्ययन समितिले ६ बर्ष अगाडि समलिङ्गी विवाहलाई मान्यता दिनुपर्ने निष्कर्षसहित सरकारलाई प्रतिवेदन बुझाइसकेको छ। तर, सरकारले यस्तो विवाहलाई कानूनी मान्यता दिने सम्बन्धी कानून बनाएको छैन। 

सरकारलाई कानून बनाउन दवावदिने उद्देश्यले नै सौरभ र सुरजको बैवाहिक कार्यक्रम आयोजना गरिएको परिचय समाजका कार्यक्रम संयोजक मनोरञ्जन बैद्यले बताए।

विवाहित जोडीलाई बधाई दिदै परिचय समाजका अध्यक्ष प्रेम जिसीले समलिङ्गी विवाहको कानून बनाउन सरकारसँग माग गरे। 
 

मंसिर १९, २०७७ शुक्रबार १६:१३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।