महिलालाई कुवेतमा लगेर बेच्न खोज्ने पक्राउ

महिलालाई कुवेतमा लगेर बेच्न खोज्ने पक्राउ

काठमाडौं : चार जना महिलालाई गैरकानूनी रूपमा कुवेत पुर्याएर बेचविखन गर्न खोजेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। 

पक्राउ पर्नेमा मोरङ कटहरी गाउँपालिका–९, स्थायी ठेगाना भएका २९ वर्षीय राज भन्ने राजेशकुमार चौधरी छन्। 
उनलाई प्रहरीले काठमाडौंको नयाँ बसपार्कबाट पक्राउ गरेको हो।

वैदेशिक रोजगारीमा आकर्षक तलब दिलाइदिने प्रलोभनमा नेपालगञ्जको रुपैडिया नाका भएर भारतको दिल्ली पुर्याई १५ दिनसम्म बन्धक बनाएको पीडितको उजुरी छ।

भारतबाट श्रीलंका हुँदै खाडी कुवेत पुर्याई बेचबिखन गर्ने उदेश्यले दिल्ली लगिएको पीडितहरूले बताएका छन्। 

चौधरीले भारतमा बन्धक बनाएर शारीरिक र मानसिक शोषण गरेको समेत उनीहरूले बताएका छन्। कोठामा कोही नभएको मौका पारी पीडित महिलाहरू भागेर भारतीय प्रहरीको सम्पर्कमा पुगेका थिए। 

त्यहाँबाट शान्ति पुनर्स्थापना केन्द्रको समन्वयमा आफन्तहरूको सम्पर्कमा आएका उनीहरू नेपाल फर्केपछि चौधरीविरुद्ध जाहेरी दिएका थिए।

पीडितको जाहेरीको आधारमा चौधरीलाई पक्राउ गरिएको प्रहरीको मानव बेचविखन अनुसन्धान ब्यूरोले जनाएको छ।
 

मंसिर १९, २०७७ शुक्रबार १५:५२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।