वीर अस्पतालका कर्मचारीको आन्दोलन ४६ दिनपछि स्थगित 

वीर अस्पतालका कर्मचारीको आन्दोलन ४६ दिनपछि स्थगित 

काठमाडौं : विभिन्न माग राखी आन्दोलनरत वीर अस्पतालका स्वास्थ्यकर्मी तथा कर्मचारीको आन्दोलन ४६ दिनपछि स्थगित भएको छ।

बिहीबार प्रतिष्ठान र आन्दोलनरत पक्षबीच वार्तापछि दुवै पक्षबीच ५ बुँदे सम्झौता भएपछि आन्दोलन स्थगित भएको हो।

अस्पतालका निर्देशक डा. केदार सेन्चुरीले आन्दोलन स्थगित भएपछि पदाधिकारीको कार्यकक्षमा लगाइएको ताला खोलिएको जानकारी दिए।

तालाबन्दी खोलिएपछि अस्पतालका सेवाहरु पूर्ववत् अवस्थामा सञ्चालन भएका छन्। 

गुणस्तरीय सुरक्षा सामग्री, तलब र जोखिम भत्ता पाउनुपर्ने लगयतका माग राख्दै अस्पतालका कर्मचारी आन्दोलनमा उत्रिएका थिए।

बिहीबार राति सम्झौता पत्रमा केही सदस्यहरुले हस्ताक्षर गर्न नमानेपछि सम्झौता हुन नसके पनि शुक्रबार बिहान सहमति भएको निर्देशक सेन्चुरीले बताए। 

६ हप्ताभित्र दुई महिनाको भत्ता उपलब्ध गराउने र बाँकी नियमित उपलब्ध गराउँदै जाने, कोभिड भत्ता वितरणमा भएको त्रुटि सच्याउने, औषधि खरीद सम्वन्धी भत्ता एक साताभित्र उपलव्ध गराउने लगायतका विषयमा सहमति भएको छ। 

सम्झौँता पत्रमा प्रतिष्ठानका तर्फबाट उपकुलपति प्रा.डा. देवनारायण साहलगायतले हस्ताक्षर गरेका छन्।

आन्दोलनकारीको तर्फबाट सहसंयोजक खुबराज आचार्य, सदस्यहरु टिकाराम पनेरु, शारदा अर्याल र इन्द्र अर्यालले हस्ताक्षर गरेका छन्।

मंसिर १९, २०७७ शुक्रबार १५:१७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।