तीन दिनभित्रै कोरोना बीमा दाबी भुक्तानी गर्न अर्थमन्त्रीको निर्देशन
काठमाडौं : अर्थमन्त्री विष्णु पौडेलले कोरोना बीमादाबी तीन दिनभित्रै भुक्तानी गर्न पुनः निर्देशन दिएका छन्।
बीमा दाबी ७ दिनभित्र भुक्तानी गर्न पहिलो पटक दिएको निर्देशन कार्यान्वयन नभएपछि पौडेलले तीन दिनभित्र भुक्तानी दिन दोस्रो निर्देशन दिएका हुन्।
अर्थ मन्त्रालयले बिहीबार बीमा समितिलाई पत्राचार गर्दै कोरोना बीमा मापदण्ड बमोजिम प्रक्रिया तथा कागजात पूरा भएका दाबीहरूको भूक्तानी ३ दिनभित्र गरि दैनिकरूपमा मन्त्रालयमा जानकारी गराउन निर्देशन दिइएको छ।
यसअघिको निर्देशन एक महिनासम्म पनि कार्यान्वयन नभएपछि मन्त्रालयले दोस्रो निर्देशन दिएको हो। गत कात्तिक १८ मा मन्त्रालयले ७ दिनभित्र कोरोना दाबी भुक्तानी गर्न निर्देशन दिएको थियो।
भेरिफिकेशन गर्न बाँकी दाबीको भेरीफिकेशन यथाशिघ्र सम्पन्न गरी भूक्तानी दिने व्यवस्था मिलाउन पत्रका भनिएको छ।
कोरोना बीमा दाबी भुक्तानीका सम्बन्धमा भएका निर्णयहरू मध्ये ७ दिनभित्र सबै दाबी भुक्तानीको कार्य सम्पन्न गर्ने भनिएकोमा हालसम्म न्यून संख्यामा मात्र भुक्तानी भएको मन्त्रालयले बताएको छ।
दैनिक प्रगति प्रतिवेदन नियमितरूपमा मन्त्रालयमा नबुझाएको, बीमा समितिको हटलाइन फोन सञ्चालन नगरेको र अन्य निर्देशन पनि प्रभावकारी ढंगले कार्यान्वयन नगरेको गुनासो आएपछि मन्त्रालयले दोस्रो निर्देशन दिएको हो। .jpg)
मंसिर १८, २०७७ बिहीबार १८:०५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।