कम्युनिस्टको हातमा लोकतन्त्र सुरक्षित हुँदैन : पौडेल

कम्युनिस्टको हातमा लोकतन्त्र सुरक्षित हुँदैन : पौडेल

तनहुँ : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कम्युनिस्टको हातमा लोकतन्त्र सुरक्षित नहुने बताएका छन।


 

तनहुँको व्यास नगरपालिकाको वडा नम्बर १, १० र ११ जोड्ने मोटरपुलको बिहीबार उद्घाटन गर्दै नेता पौडेलले सिद्धान्तहीन कम्युनिस्ट सरकारको कारण देशमा अवसरवाद, लेनदेनको राजनीति मौलाएको आरोप लगाए।

कम्युनिस्टहरू संसारमा समस्या जन्माउन मात्र सक्ने भन्दै नेता पौडेलले उनीहरुबाट कुनै पनि समस्याको समाधान हुन नसक्ने बताए।

नेता पौडेलले तस्करीको पैसा देखाउँदै पार्टी प्रवेश गराउनु सङ्घीय लोकतन्त्र नभएको भन्दै आक्रोश व्यक्त गरे। 

राज्य कोषको पैसा दुरूपयोग गरेर निर्माण भएका संरचना देखाएर जनप्रतिनिधिले फुर्ती लगाउने गरेको भन्दै नेता पौडेलले स्थानीय तहमा जनप्रतिनिधि भएको अवस्थामा संसद् विकास कार्यक्रमको कुनै औचित्य नभएको बताए।

‘अहिलेको अवस्थामा स्थानीय विकास पूर्वाधार कार्यक्रमको कुनै आवश्यकता छैन’, उनले भने‘ ‘केपी ओलीले षड्यन्त्र गरे, स्थानीय जनप्रतिनिधिले फुर्ती देखाउने काम भएको छ।’ 

राजनीति पूर्वाग्रहमा प्रशासनले बल प्रयोग गरेर आफूलाई नियन्त्रणमा लिएको उनले आरोप लगाए। ‘‘हिजो पनि म त्यहाँसम्म आएको थिएँ, १० हात मात्रै बाँकी थियो’ पौडेलले भने, ‘प्रहरीले समातेर नियन्त्रणमा लियो, आज उनीहरु लज्जित भएर शिर निहुरिएको छ।’

विकास गर्नुको साटो नेकपाले नागरिकको अगाडि रवाफ मात्र देखाएको भन्दै नेता पौडेलले आफूले संरचना निर्माण गरेर उद्घाटन गरेर देखाउन नेकपाका नेतालाई चुनौतीसमेत दिए।

बुधबार पुल उद्घाटन गर्न गएका नेता पौडेललाई प्रहरीले गिरफ्तार गरेको थियो।

बिहीबार भने कांग्रेसले शक्ति प्रदर्शन गर्दै पुल उद्घाटन गरेको छ। 

यस्तै सोही कार्यक्रममा नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले पौडेलमाथि भएको दुर्व्यवहार प्रधानमन्त्री केपी शर्मा ओलीकै निर्देशमा भएको आरोप लगाएका छन्।

पौडेलमाथि स्थानीय प्रशासनले मात्रै दुर्व्यवहार गर्न नसक्ने भन्दै उनले घटना नियोजित र पूर्वाग्रही भएको बताए। 

नेता पौडेलले तनहुँका सांसद किसन श्रेष्ठकोसमेत चर्को आलोचना गरे। उनले श्रेष्ठ विचौलिया र ठेकेदार भएको भन्दै उनले कमाएको स्रोतसमेत खोजेका छन्।

‘किसन श्रेष्ठ एक दिन पनि कस्टडीमा बस्नुभएन। लोकतन्त्र स्थापनाका लागि पनि उहाँ लड्नुभएन। उहाँ विचौलिया र ठेकेदार हो। विभिन्न कारणले सांसद हुनु अर्कै कुरा। उहाँको योग्यता के हो ? त्यतिका पैसा कसरी कमाउनुभयो,’ पौडेलले भने, ‘उहाँले राज्यलाई कति कर तिर्नु भएको छ। यदि सम्पति शुद्धिकरण आयोग ओलीजीको पन्जामा नभएको भए उहाँ पहिलो सिकार हुनुहुन्थ्यो।’
 

मंसिर १८, २०७७ बिहीबार १७:३५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।