जुम्लाको चन्दनथानसँग भगिनी सम्वन्ध जोड्दै काठमाडौं महानगर 

जुम्लाको चन्दनथानसँग भगिनी सम्वन्ध जोड्दै काठमाडौं महानगर 

काठमाडौं : काठमाडौं महानगरपालिकाले जुम्लाको चन्दनथान नगरपालिकासँग भगिनी सम्वन्ध स्थापना गर्ने भएको छ।

महानगरले सम्वन्ध स्थापनाको प्रकृया सुरु भएको जनाएको छ। सम्बन्ध स्थापना गर्ने सम्बन्धमा महानगरपालिकाले चन्दनथान नगरपालिका प्रमुख क्रान्तिका सेजुवालसहितका जनप्रतिनिधिसँग छलफल गरेको हो।

महानगर प्रमुख विद्या सुन्दर शाक्यले चन्दनथासँग छिटै औपचारिक रुपमा भगिनी सम्वन्ध स्थापनाका लागि समझदारीपत्रमा हस्ताक्षर गरिने बताए।  

प्रमुख शाक्यले दुई नगर क्षेत्रभित्रका जिवन्त संस्कृति, सम्पदा र पर्यटकीय, पर्यावरण क्षेत्रको संरक्षण, प्रवद्र्धन, विकास र प्रचार प्रसारमा सहकार्य गर्न सकिने बताए।

भगिनी सम्वन्ध स्थापनापछि जुम्लामा उत्पादिन बहुमुल्य जडिबुटी, स्याउ, सिमी, ओखरलगायतका प्राङगारिक कृषि उत्पादनको बजारीकरण, व्यवस्थापन लगायतका विषयमा पनि सहकार्य गर्न सकिने उनको भनाई छ।

‘रारा, सेफोक्सुण्डो जस्ता ताल जाने बाटोमै रहेको चन्दननाथसँग धार्मिक पर्यटनसँग समेत जोडेर मुलुकको अर्थतन्त्रलाई समृद्ध बनाउन सकिन्छ’ उनले भने। 

चन्दनथान नगरपालिकाकी प्रमुख सेजुवालले स्रोत–साधनले सम्पन्न काठमाडौं महानगरसँग भगिनी सम्वन्ध स्थापना अन्तिम चरणमा पुगेको बताइन्। ‘हामी दुई नगरबीच धार्मिक पर्यटनसँग पनि जोडेर अघि बढ्न सकिन्छ’ उनले भने। 

महानगरले केही दिन अघि मात्रै नवलपरासी पश्चिमको प्राचिन नगर रामग्राम नगरपालिसँग अन्तरस्थानीय तह भगिनी सम्वन्ध स्थापना गरेको थियो। 

कार्यक्रममा काठमाडौं महानगरपालिकाकी उप–प्रमुख हरिप्रभा खड्गी श्रेष्ठले पनि भगिनी सम्वन्ध स्थापनापछि दुई नगरले सहकार्य गर्न सकिने बताइन्।
यस्तै धनकुटाको पाख्रिवास नगरपालिकाले पनि भगिनी सम्वन्ध स्थापनाका लागि महानगरसँग  प्रस्ताव राखेको छ। 

महानगरका अनुसार पाख्रिवास नगरपालिका प्रमुख वृषबहादुर राई र जनप्रतिनिधिले बिहीबार महानगर प्रमुख शाक्यसँग भेटवार्ताका क्रममा यस्तो प्रस्ताव राखेका हुन्। 

मंसिर १८, २०७७ बिहीबार १६:१९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।