शक्ति प्रदर्शनसहित नेता पौडेलले गरे पुल उद्घाटन

शक्ति प्रदर्शनसहित नेता पौडेलले गरे पुल उद्घाटन

काठमाडौं : नेपाली कांंग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँ ब्यास नगरपालिकाको बुल्दीखोलाको पुल उद्घाटन गरेका छन्।
पौडेलले बिहीबार कांग्रेसका हजारौँ कार्यकर्तासहित पुल उद्घाटन गरेका हुन्।

नेपाली कांग्रेस तनहुँका सचिव विश्व बास्तोलाले शक्ति प्रदर्शनसहित नेता पौडेलले पुल उद्घाटन गरेको जानकारी दिए।

जिल्लाभरबाट कार्यकर्ता दमौलीमा उतारेर पुल उद्घाटनमा सहभागि गराइएको पनि बास्तोलाले बताए। उद्घाटन कार्यक्रममा कार्यक्रमका लागि केन्द्रीय सदस्य शंकर भण्डारी, प्रदिप पौडेल, धुव्र वाग्ले गण्डकी प्रदेका प्रमुख प्रतिपक्ष दलका नेता कृण्ण नेपाली र गोविन्द भट्टराई पनि तनहुँ पुगेको बाँस्तोलाले जानकारी दिए।

पुल उद्घाटनअघि जिल्ला पार्टी कार्यालय दमौलीबाट जुलुस निकालिएको बास्तोलाले बताए। केन्द्रीय नेतासहितको जुलुस पुल बनेको स्थानमा पुगेर सभासहित उद्घाटन गरिएको छ। 

दुई करोड ५४ लाख रुपैयाँ लागतमा गत साल पुल निर्माण सकिएको छ। उद्घाटन गर्न बोलाउने व्यक्तिका विषयमा विवाद भएपछि नेकपा कार्यकर्ता विरोधमा उत्रिएका थिए।

बुधबार जिल्ला प्रशासन कार्यालयले पुल क्षेत्रमा निषेधाज्ञा जारी गरी पौडेललाई पुल उद्घाटन गर्न नजान आग्रह गरेको थियो। तर पौडेल पुल उद्घाटन गर्न जाँदा नियन्त्रणमा लिई ३ घण्टापछि छाडेको थियो।

बिहीबार भने उक्त पुल उद्घाटनमा प्रशासनले अवरोध गरेन। बिहीबार कांग्रेसका कार्यकर्ताले बुधबार प्रहरीले गरेको व्यवहारको विरोधमा नाराबाजीसमेत गरेका थिए।

नेता पौडेललाई गिरफ्तारी गरेको विरोधमा नेविसंघ र तरुण दलले आज देशभर प्रदर्शन गरिरहेको छ। 

मंसिर १८, २०७७ बिहीबार १४:१०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।