निस्सासिएर एक महिने शिशुसहित आमाको मृत्यु

निस्सासिएर एक महिने शिशुसहित आमाको मृत्यु

काठमाडौं : बौद्ध गोकर्णेश्वर नगरपालिका–२ नयाँपाटीमा आमा र एक महिने छोरी मृत फेला परेका छन्। 

बिहीबार बिहान २७ वर्षीया पेम्बी शेर्पा र उनकी एक महिने छोरी मृत फेला परेका हुन्।

३२ वर्षीय श्रीमान दोर्जे शेर्पा अचेत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

उनको नेपाल मेडिकल कलेजमा उपचार भइरहेको महानगरीय प्रहरी वृत्त, बौद्धका प्रहरी नायब उपरीक्षक (डिएसपी) नविन कार्कीले जानकारी दिए।

सिन्धुपाल्चोकका उनीहरू नयाँपाटीस्थित डेरामा बस्दै आएका थिए। 

बिहान अबेरसम्म बोलाउँदा पनि कोठाबाट ननिस्किएपछि घरबेटीले प्रहरीलाई खबर गरेका थिए। 

प्रहरीले हेर्दा आमा र छोरी मृत फेला परेको र बुवा अचेत अवस्थामा फेला परेको डिएसपी कार्कीले बताए। 

राति झ्याल ढोका बन्द गरी हिटर बालेर सुतेको हुँदा निस्सासिएर मृत्यु भएको हुनसक्ने आशंका प्रहरीले गरेको छ। 

‘राति झ्याल ढोका बन्द गरेर हिटर बालेको रहेछ’ डिएसपी कार्कीले भने,‘त्यसै कारणले निस्सासिएर मृत्यु भएको हो कि भन्ने प्रारम्भिक अनुसन्धानबाट देखिएको छ।

प्रहरीले घटनास्थलमा पुगेर थप अनुसन्धान गरिरहेको जनाएको छ। दोर्जेको स्वास्थ्यमा सुधार आएको प्रहरीले जनाएको छ।

जाडोयाममा हिटर बालेर झ्याल ढोका थुनेर सुत्दा निस्सासिएर वर्षेनी थुप्रैको ज्यान जाने गरेको छ।

मंसिर १८, २०७७ बिहीबार १३:३९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।