प्रधानमन्त्रीका लागि पौडेल गिरफ्तारीको घटना महँगो पर्ने गगन थापाको चेतावनी
काठमाडौं : नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्राउको घटना प्रधानमन्त्री केपी शर्मा ओलीका लागि महँगो पर्ने चेतावनी दिएका छन्।
पौडेलको गिरफ्तारी र प्रहरी हस्तक्षेप नियोजित भएको भन्दै थापाले यस्तो चेतावनी दिएका हुन्। पौडेलको गिरफ्तारीले सरकारको चरित्रलाई उदांगो बनाएको थापाको भनाइ छ।
पुल उद्घाटनका लागि गृहजिल्ला तनहुँ पुगेका पौडेललाई बुधबार प्रहरीले नियन्त्रणमा लिएको थियो।
‘नेका वरिष्ठ नेता पौडेलको गिरफ्तारी र प्रहरी हस्तक्षेप स्थानीय प्रशासनको एकल निर्णय र परिस्थितिजन्य प्रतिक्रिया हुनै सक्दैन, होइन।
यो नियोजित हो, राजनीतिक प्रतिशोध हो, शक्ति उन्माद हो। यसले यो सरकारको चरित्रलाई उदांगो बनाएको छ। यो तपाईँका लागि निकै महँगो पर्नेछ,’ थापाले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्।
प्रशासनले निषेधाज्ञा उलंघन गरेको भन्दै नेता पौडेललाई गिरफ्तार गरेर केहीबेर अघि छोडेको छ।
मंसिर १७, २०७७ बुधबार १८:१२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।