कांग्रेस वरिष्ठ नेता पौडेल रिहा
काठमाडौं : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई तनहुँ प्रहरीले रिहा गरेको छ।
पौडेलसहित पक्राउ कांग्रेस कार्यकर्ता सबै रिहा भएको तनहुँ कांग्रेसले जनाएको छ। अहिले पौडेल कार्यकर्तासहित दमौलीस्थित पार्टी कार्यालय पुगेका छन्।
पौडेल रिहा भएपछि घटनाको विषयमा थप रणनीति तय गर्न नेताहरु कांग्रेस तनहुँ जिल्ला कार्यालयमा भेला भएका छन्।
बुधबार दिउँसो तनहुँ जिल्ला व्यास नगरपालिकाको वडा नम्बर १ र ११ जोड्ने बुल्दी खोलाको पुल उद्घाटन गर्न पुगेका नेता पौडेललाई प्रहरीले जबरजस्ती नियन्त्रणमा लिएको थियो।
गिरफ्तारीको चौतर्फी विरोध भएपछि प्रहरीले भर्खरै नेता पौडेलसहित पक्राउ परेका कांग्रेसका नेता तथा कार्यकर्तालाई रिहा गरेको हो।
नेपाली कांग्रेसकै पालामा निर्माण सम्पन्न भएको पुल बुधबार स्थानीय उपभोक्ता समितिले सर्वसम्मत रुपमा निर्णय गरेर उद्घाटनका लागि पौडेललाई बोलाएका थिए।
तालघरे र दुम्सी जोड्ने पुलको उद्घाटन नेता पौडेलले गर्ने कार्यक्रम तय भएको थाहा पाएपछि जिल्ला प्रशासनले पुलको उद्घाटन रोक्नभनेको थियो।
निषेधाज्ञा जारी गर्दै जिल्ला प्रशासनले पुल उद्घाटनमा अवरोध गरेको कांग्रेसको आरोप छ।
कांग्रेस सभापति शेरबहादुर देउवालगायतले पौडेलको गिरफ्तारीको घोर भत्सर्ना गरेका छन्।
मंसिर १७, २०७७ बुधबार १८:०४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।