पौडेलको गिरफ्तारी सर्वसत्तावादको संकेत : देउवा

पौडेलको गिरफ्तारी सर्वसत्तावादको संकेत : देउवा

देउवाले बुधबार विज्ञप्ति जारी गर्दै पौडेलप्रतिको दुर्व्यवहार र गिरफ्तारी सर्वसत्तावादको संकेत भएको आरोप लगाएका हुन्।

पौडेललाई गिरफ्तार गरेको घटनाप्रति चर्को विरोध जनाएउँदै देउवाले तत्काल रिहा नगरे देशव्यापी आन्दोलन चर्काउने चेतावनीसमेत दिएका छन्। उनले घटना आपत्तिजनक एवं निन्दनीय भएकोसमेत बताएका छन्।

सभापति देउवाले नेता पौडेल तत्काल रिहा नगरे परिस्थितिको सामना गर्न सरकारलाई तयार भएर बस्न चेतावनीसमेत दिएका छन् । 

‘वर्तमान सरकारको अधिनायकवादी आकांक्षाको जगमा भएको यो घटनाप्रति कडा विरोध प्रकट गर्दै अधिनायकवादी अभिस्टलाई पूरा हुन नदिन नेपाली कांग्रेस एक ढिक्का भएर शसक्त प्रतिरोध गर्ने चेतावनी दिन चाहन्छु’ देउवाले विज्ञप्तिमा भनेका छन्। 

बुधबार दिउँसो तनहुँ जिल्ला व्यास नगरपालिकाको वडा नम्बर १ र ११ जोड्ने बुल्दी खोलाको पुल उद्घाटन गर्न पुगेका नेता पौडेललाई प्रहरीले जबरजस्ती नियन्त्रणमा लिएको छ। 

नेपाली कांग्रेसकै पालामा निर्माण सम्पन्न भएको पुल बुधबार स्थानीय उपभोक्ता समितीले सर्वसम्मत रुपमा निर्णय गरेर उद्घाटनका लागि पौडेललाई बोलाएका थिए। 

सत्तारुढ दलको भातृ संगठन युवा संघले पौडेललाई पुल उद्घाटन गर्न नदिन बिरोध प्रदर्शन समेत गरेको थियो।

पौडेललाई पुल उद्घाटनबाट रोक्न प्रशासनले पुल रहेको स्थानमा दिउसो १२ बजे देखि बेलुकी ६ बजे सम्म निषेधाज्ञा जारी गरेको थियो।

पौडेलले निषेधाज्ञा तोडेकाले गिरफ्तार गरेको प्रहरीले जनाएको छ। 
 

मंसिर १७, २०७७ बुधबार १७:११:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।