ओली अनुपस्थित हुँदा नेकपा सचिवालय बैठक स्थगित
निर्धारित समय दिनको २ बजे अन्य सदस्यहरु पुगे पनि ओली सहभागी नभएपछि बैठक स्थगित भएको हो।
ओली उपस्थित नभए पनि नेताहरुबीच केही बेर छलफल भने भएको बुझिएको छ।
बैठक २० गते १ बजेका लागि सारिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए।
उनले २० गते अध्यक्ष ओलीलाई अनिवार्य उपस्थित हुन आग्रह गरिएको पनि बताए।
प्रधानमन्त्री ओलीले मंगलबारको बैठकमा सचिवालय बैठक औचित्यहीन रहेको बताएका थिए।
ओली यसअघि अर्का अध्यक्ष पुष्पकमल दाहालले कात्तिक २८ गते सचिवालयमा प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन फिर्ता लिएर माफी नमागेसम्म आफू बैठकमा सहभागी नहुने चेतावनी दिएका थिए।
तर बुधबार विहान ओली निकटका नेताले बैठकमा सहभागी हुनु नै उचित हुने सुझाव दिएपछि ओली बैठकमा सहभागी हुन तयार भएका थिए।
मंसिर १७, २०७७ बुधबार १५:०९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।