ओली र दाहालबीच भनाभन, पौडेलवाहेक सबै दाहालको पक्षमा
काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को मंगलबारको सचिवालय बैठकमा अध्यक्षद्वय केपी शर्मा अोली र पुष्पकमल दाहालबीच भनाभनको स्थिति सिर्जना भएको छ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले दाहालको राजनीतिक प्रस्ताव फिर्ता हुनुपर्ने भन्दै अहिले बैठक राख्नुको औचित्य नभएको बताएपछि भनाभनको स्थिति सृजना भएको हो।
ओलीले बैठक छल्न खोजेको संकेत पाएपछि अर्का अध्यक्ष दाहालले त्यसको प्रतिवाद गरेका थिए। प्रधानमन्त्री ओलीले अध्यक्ष दाहालले लगाएको आरोपपत्र फिर्ता लिए मात्रै बैठक सुचारु गर्न नदिने बताएका थिए। तर, अध्यक्ष दाहालले एक जनाले भन्दैमा बैठक स्थगित नहुने भन्दै विरोध गरेका थिए।
दाहालले ‘किन बैठक नराख्ने ? राजनीतिक प्रस्तावमा तपाईको बारेमा देखिएका विषय उठान गरिएको छ, त्यो फिर्ता हुँदैन’ भन्दै जवाफ दिएका थिए।
ओलीले फरक धारबाट पार्टीको विवाद समाधान गर्नुपर्ने बताएपछि महासचिव विष्णु पौडेल बाहेक अन्य सचिवालय सदस्यहरुले त्यसको प्रतिवाद गरेका थिए।
उनीहरुले बैठकबाटै समस्याको समाधान निकाल्नुपर्ने अडान लिएको एक सचिवालय सदस्यले जानकारी दिए।
बैठकमा ओलीले प्रस्तुत गरेको लिखित जवाफ र त्यसअघि गत कात्तिक २८ गतेको बैठकमा अर्का अध्यक्ष दहालले प्रस्तुत गरेको लिखित पत्रका सम्बन्धमा बैठक केन्द्रित रहेको जनाइएको छ।
दुवै अध्यक्षका प्रस्तावलाई साझा बनाएर यही मङ्सिर १८ गते हुने स्थायी कमिटी र यही २५ गते हुने केन्द्रीय कमिटीको बैठकमा लाने वा अलगअलगरुपमा लाने भन्नेबारेमा नेताहरुबीच छलफल भएको छ।
सचिवालयको बैठक भोलि (बुधबार) पनि बस्ने जनाइएको छ।
मंसिर १६, २०७७ मंगलबार १९:००:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।