६ लेन सडक बन्यो, पुल बन्ने टुंगो छैन
धनगढी : निर्माणाधीन मोहना पुल अत्तरीया ६ लेन सडकको ठेक्का सम्झौता अवधि सकिनै लाग्दा पनि सडक क्षेत्रमा पर्ने ३ वटा पुल निर्माणको प्रक्रिया सुरु भएको छैन।
सडकको ठेक्का सम्झौता सकिन झण्डै २ महिना मात्र बाँकी छ। तर, पुन निर्माणको ठेक्का सम्झौतासमेत हुन सकेको छैन।
कार्तिक महिनामा २ वटा पुल सुनी खोला र मनोहरा खोलाको ठेक्का प्रक्रिया अगाडी बढेको भए पनि मोहना पुलको ठेक्का अझै आह्वान हुन सकेको छैन।
सडक निर्माण कार्य अन्तिम चरणमा पुगे पनि पुल निर्माण नहुँदा आवत–जावतमा समस्या भएको धनगढी उपमहानगरपालिका ३ का स्थानीय तेजराज जोशीले बताए।
उनले भने,‘सडकमा सहजै आवत–जावत गर्न सके पनि पुल नहुँदा थप समय लाग्ने गरेको छ। समयमै पुल निर्माण भए आवत–जावतमा सहज हुने थियो।’
‘सडक निर्माण भइसक्दा पनि पुल नबन्दा दुर्घटनाको जोखिम बढेको छ’ धनगढी उपमहानगरपालिका–८ का स्थानीय रामप्रसाद रानाले भने,‘पुल साँघुरो हुँदा दैनिक आवतजावत गर्न निकै समस्या भयो।’
आयोजना कार्यालयले भने २ वटा पुल को ठेक्का प्रक्रिया अगाडी बढेको भए पनि एउटा पुलको डिजाइन विभागमा पठाउने तयारीमा रहेको जनाएको छ।
सडक विभागबाट समयमै डिपिआर सुचिकृत नहुँदा पुल निर्माण कार्यमा ढिलाइ भएको मोहना ६ लेन सडक आयोजनाका इन्जिनियर लक्ष्मण रावलले बताए।
२ वटा पुलको ठेक्का सम्झौता भएर ३ महिना भित्रै निर्माण कार्य अगाडि बढेन उनले भने,‘कोरोना भाइरसको बढ्दो संक्रमणका कारण केही ढिलाइ भएको हो अब लगत्तै प्रक्रिया शुरू हुन्छ।’
१ अर्ब ६८ करोड लागतमा बन्ने आयोजना निर्माणका लागि ३ खण्डमा ठेक्का दिइएको छ।
भन्सार रोडदेखि बोराडाँडीसम्म साढे ४ किलोमिटर पहिलो खण्ड, बोराडाँडीदेखि मोहनपुरसम्मको साढे ४ किलोमिटरको दोस्रो खण्ड र मोहनपुरदेखि अत्तरीयासम्मको ५.२ किलोमिटरको तेस्रो खण्ड गरी विभाजन गरिएको छ।
दुई वर्षमा सम्पन्न गर्ने गरी २०७३ बाट निर्माण शुरू गरिएको भए पनि हालसम्म आयोजना सम्पन्न हुन सकेको छैन।
मोहना अत्तरीया ६ लेन अन्तर्गत आर्थिक वर्ष २०७३ बाट धनगढी भन्सार रोडस्थित मोहना पुलदेखि अत्तरीया चोकसम्मको १४ दशमलव २ किलोमिटर सडकलाई तीन खण्डमा छुट्ट्याएर अलग–अलग ठेक्कामार्फत् काम सुरु गरियो।
जसको प्याकेज १ का लागि २०७३ जेठ १ गते शर्मा अमर नागार्जुन निर्माण कम्पनीसँग ठेक्का सम्झौता गरियो भने प्याकेज २ र ३ का लागि जेठ १० गते २ वर्ष अवधि रहने गरी सम्झौता भयो। तर, सम्झौता अवधि सकिँदासम्म निर्माण कम्पनीहरूले ३० प्रतिशत मात्रै काम सम्पन्न भयो।
त्यसपछि २०७६ सालमा ६ महिलाका लागि फेरि आयोजनाको म्याद थप गरियो।
‘आयोजनाको ठेक्का नम्बर १ को म्याद मंंसिर ६ गते सकिएको छ। यसको भौतिक प्रगती भने ७५ प्रतिशत मात्रै छ’, आयोजना प्रमुख युवराज पोखरेलले भने, ‘दोस्रोपटक थप गरिएको म्याद पनि सकियो तर निर्माण सम्पन्न हुन सकेन।’
‘प्याकेज’ नम्बर २ र ३ को म्याद पनि माघ १५ गते सकिँदैछ, तर भौतिक प्रगति ७५ प्रतिशतको हाराहारीमा मात्रै छ।
मंसिर १६, २०७७ मंगलबार १८:००:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।