विदेशबाट फर्केका १० हजारका लागि स्वरोजगार कार्यक्रम
काठमाडौं : वैदेशिक रोजगार बोर्डले कोभिड संक्रमणका कारण रोजगारी गुमाएर स्वदेश फर्केका १० हजार युवाका लागि स्वरोजगार कार्यक्रम संचालन गर्ने भएको छ।
बोर्डले स्थानीय तहसँगको साझेदारीमा विदेशबाट वेरोजगार बनेर फर्केका युवालाई विभिन्न क्षेत्रमा स्वरोजगारका कार्यक्रम संचालन गर्ने भएको हो।
बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठले वैदेशिक रोजगारीबाट फर्केर आफनो गाँउमा बसेका युवा सोही स्थानीय तहमा नै स्वरोजगार कार्यक्रम संचालन गर्ने बताए।
‘यो वर्ष कोभिडको कस्तो प्रभाव रहन्छ भन्ने कुरा हेरिरहेका छौ। परिस्थिती सहज भए १० हजार युवालाई स्वरोजगार बनाउने लक्ष्य रहेको छ’ उनले भने ‘कोभिडको कारण स्वरोजगार कार्यक्रम तत्काल सुरु नभएपनि बोर्डको लक्ष्य अनुसार १० हजारलाई स्वरोजगार बनाउने योजना छ।’
युवा स्वरोजगार कार्यक्रम संचालन गर्न बोर्डले कार्यबिधि बनाएर श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा पेश गरेको छ।
मन्त्रालयले सो कार्यबिधिलाई केही दिन भित्र स्वीकृती दिने र कार्यक्रम अघि बढाउने बोर्डले जनाएको छ।
कार्यबिधि अनुसार बोर्डले ३ वटा बिषयलाई आधार बनाएर स्वरोजगार कार्यक्रम संचालन गर्ने तयारी गरेको बोर्डका कार्यकारी निर्देशक श्रेष्ठले जानकारी दिए।
कार्यबिधि अनुसार वैदेशिक रोजगारीबाट फर्केका युवालाई स्थानीय तहसँगको सहकार्यमा स्वरोगारी बनाउन सीप तालिम, उद्यमशिलता तालिम, वस्तुगत सहायता दिई स्वरोजगार अन्र्तगत रोजगारीका कार्यक्रम संचालन गर्ने योजना रहेको छ।
बोर्डका निर्देशक एवं प्रवक्ता दीनबन्धु सुवेदीले स्थानीय तह छनोट गरेपछि उनीहरुको माग अनुसार स्वरोजगारका कार्यक्रम संचालन गरिने बताए।
‘स्थानीय तह र युवासँगको समन्वयनमा वित्तिय साक्षरता, उद्यमशिलता लगायतका स्वरोजगार हुनेखालका कार्यक्रमको प्रविधि तथा वित्तिय सहयोग रहने छ’ निर्देशक सुबेदीले उकेरासँग भने ‘पहिलो चरणमा कार्यक्रम सुरु गरिका कारण सबै स्थानीय तहमा भने कार्यक्रम अहिले नै संचालन गर्न सकिदैन।’
यसका लागि स्थानीय तहले वैदेशिक रोजगारीबाट फर्केका युवालाई श्रम बैंक र श्रम सूचनामा दर्ता भएपछि त्यसको आधारमा मात्र कार्यक्रम संचालन गर्ने बोर्डको तयारी रहेको छ।
वैदेशिक रोजगार विभागको तथ्यांक अनुसार विदेशबाट जाने श्रमिकहरुको कार्यक्षेत्र अनुसार सबैभन्दा बढी ५८.२ प्रतिशत सामान्य सीपयुक्त कामहरु सरसफाई श्रमिक, लोडिङ र डेलिभरीमा जाने गरेको उल्लेख छ।
यसैगरी १५ प्रतिशत बेकरी, डेजर्ट मेकर, बरिस्टा÷कफी मेकर, केयर गिभर, कुक-सेफ, हाउस किपिङ, रिटेल, सेक्युरिटी टेलर, वेटरमा जाने गरेका छन्।
यि क्षेत्रमा काम गरेर फर्केका युवालाई सोही अनुसार स्वरोजगार बनाउन सकिने अवस्था रहेको छ।
यसैगरी ९.९ प्रतिशत कन्स्ट्रक्सन, ७.३ ड्राईभर, ५ प्रतिशत ईलेक्ट्रिकल÷मेकानिकल टेक्निसियन, २ प्रतिशत उत्पादनमुलक र बाकी अन्य क्षेत्रमा रहेको देखिन्छ।
मंसिर १६, २०७७ मंगलबार १६:१४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।