राजधानीमा प्रदर्शन गर्न प्रशासनको रोक
काठमाडौं : कोरोना संक्रमणको जोखिम कायमै रहेको भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंले सभा, जुलुस र प्रदर्शन नगर्न आग्रह गरेको छ।
मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै संक्रमणको स्थितिलाई भयावह बनाउने क्रियाकलाप नगर्न प्रशासनले आग्रह गरेको हो।
पछिल्लो समय काठमाडौंमा विभिन्न माग राखी राजनैतिक तथा अन्य भीडभाडजन्य गतिविधि बढिरहेको भन्दै प्रशासनले त्यस्ता गतिविधि नगर्न सूचना जारी गरेको छ।
भीडभाडजन्य गतिविभि सभा, जुलुस, प्रदर्शन र अभियान सञ्चालन स्थानीय प्रशासन ऐन–२०२८, र संक्रामक रोग ऐन २०२० विपरीत हुने पनि प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ।
प्रशासनको अनुरोधविपरीत सभा, सम्मेलन, जुलुस गरी भीडभाड बढाएमा स्थानीय प्रशासन ऐन, २०२८ र संक्रामक रोग ऐन २०२० बमोजिम कारबाही गरिने पनि विज्ञप्तिमा उल्लेख छ।
पछिल्लो समय काठमाडौंलगायत मुलुकका विभिन्न जिल्लामा विभिन्न माग राखेर केही समूहले प्रदर्शन गरिरहेका छन्।
सोमबार राजावादीहरुको समूहले पनि राजधानीमा जुलुस प्रदर्शन गरेको थियो।
यस्तै नेपाल उद्योग वाणिज्य महासंघको महाधिवेशन पनि हालै सकिएको छ।
मंसिर १६, २०७७ मंगलबार १३:२७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।