नेकपाको सचिवालय बैठक १ बजे धुम्बाराहीमा बस्ने
काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज दिउँसो बस्दैछ।
बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने हो।
शनिबार अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले प्रस्तुत गरेको लिखित प्रतिवेदनका विषयमा आजको बैठकमा छलफल हुने जनाइएको छ। अर्का अध्यक्ष पुष्पकमल दाहालले गत कार्तिक २८ गतेको बैठकमा पेश गरेको प्रतिवेदनको जवाफ दिँदै ओलीले प्रतिवेदन प्रस्तुत गरेका थिए।
ओलीको प्रतिवेदनका विषयमा सचिवालय सदस्य माधवकुमार नेपाल, झलनाथ खनाल र उपाध्यक्ष वामदेव गौतमले आफ्ना कुरा राखिसकेका छन्। आज बस्ने सचिवालय बैठकमा प्रवक्ता नारायणकाजी श्रेष्ठ, महासचिव विष्णु पौडेल, सचिवालय सदस्य इश्वर पोखरेल तथा रामबहादुर थापाले आफ्ना कुरा राख्ने प्रवक्ता श्रेष्ठले जानकारी दिए।
ओली पक्षका नेताहरुले भने दाहालको प्रतिवेदन आरोपपत्र भएको भन्दै फिर्ता लिई गत भदौ २६ गतेको निर्णयमै केन्द्रीत भई छलफल गर्नुपर्ने माग राखेका छन्। तर दाहाल पक्षका नेताहरु दुवै अध्यक्षको प्रतिवेदन स्थायी कमिटी हुँदै केन्द्रीय कमिटीसम्म छलफल हुनुपर्ने अडानमा छन्।
पार्टीमा देखिएको विवादको समाधान कसरी खोज्ने भन्ने विषयमा दुवै पक्ष आ–आफ्नो रणनीतिमा लागेका छन् । आज बस्ने बैठकले पार्टी विवादको समाधान निकाल्न नसके अब बस्ने स्थायी कमिटी र केन्द्रीय कमिटीले निकास निकाल्ने नेताहरुले बताएका छन्।
पार्टीमा निर्णय गर्दै जाने र ओलीले उल्लंघन गर्ने गरेकाले पार्टी कमिटीबाट बहुमत र अल्पमतबाटै निर्णय गरेर निकास निकाल्ने दाहाल-नेपालपक्षको रणनीति रहेको बुझिएको छ।
मंसिर १६, २०७७ मंगलबार ०९:३५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।