न्याय परिषद् सदस्यमा श्रेष्ठ नियुक्त
काठमाडौं : वरिष्ठ अधिवक्ता रामप्रसाद श्रेष्ठलाई न्याय परिषद् सदस्यमा नियुक्त भएका छन्।
राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानबमोजिम सुनसरीको धरान निवासी श्रेष्ठलाई सोमबार न्याय परिषद् सदस्यमा नियुक्त गरेकी हुन्।
संविधानको धारा १५३ उपधारा १० को खण्ड ङ दफाबमोजिम सो नियुक्ति गरिएको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
श्रेष्ठको नाम संसदीय सुनुवाइ समितिबाट मंसिर १२ गते अनुमोदन भएको थियो।श्रेष्ठले आफू सदस्यमा नियुक्त भए न्यायाधीश नियुक्तिलाई नेपालको संविधान र न्यायपरिषद ऐन अनुसार पारदर्शी बनाउन भूमिका खेल्ने सुनुवाइका क्रममा बताएका थिए।
श्रेष्ठ चार वर्षका लागि परिषद् सदस्य बनेका हुन्। श्रेष्ठ यसअघि पनि न्याय परिषद सदस्य भइसकेका व्यक्ति हुन्। नयाँ संविधान बनेपछि उनी कार्यकाल पूरा नहुँदै पदमुक्त भएका थिए।
न्यायाधीश नियुक्ति, आचरण अनुगमन र कारबाही गर्ने निकाय न्याय परिषदमा प्रधानन्यायाधीश अध्यक्ष रहने व्यवस्था रहेको छ।
सदस्यहरूमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री, सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश, नेपाल बार एसोसिएसनको सिफारिसमा एक जना वरिष्ठ अधिवक्ता र प्रधानमन्त्रीको सिफारिसमा एक जना कानुनका विज्ञ सदस्य रहने व्यवस्था छ।
मंसिर १५, २०७७ सोमबार १९:२३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।