साझासँग एकीकरण गर्न विवेकशीलमा मतदान
काठमाडौं : विवेकशील नेपाली दलले साझा पाटीसँग एकीकरण गर्ने की नगर्ने भन्ने विषयमा पार्टीभित्र आन्तरिक मतदान गरेको छ।
विवेकशील दलका संस्थापक नेता पुकार बमले भने,‘विवेकशीलका सदस्यहरुले मतदान गर्न पाउने व्यवस्था गरि मतदान गरिएको हो ।’ उकेरासँग कुरा गर्दै नेता बमले भने,‘मत परीणामपछि पार्टी एकीकरण हुने की नहुने भन्ने थाहा हुन्छ।’
विवेकशीलले शुक्रबार आज जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ,‘विवेकशील नेपाली दलको विधानअनुरूप सहभागितामूलक लोकतन्त्रको व्यवहारिक अभ्यास गर्दै साझा पार्टीसँग एकीकरण सम्बन्धी प्रस्तावमा मतसंग्रहको मतदान प्रक्रिया पूरा भएको छ।’
विवेकशील दलका अनुसार नेपाली दल र साझा पार्टीका संवाद समितिले दुई दलबीचको एकिकरणका लागि भएको वार्ताका निष्कर्षहरू ‘संयुक्त प्रतिवेदन’ गत कार्तिक ५ गते सङ्घीय समितिको बैठकले सदस्यहरूकहाँ छलफलका लागि पठाएको थियो।
नेता बमले पहिल्यैदेखि साझासँग एकीकरणका लागि संवाद भैरहेको जानकारी दिए। उनले भने,‘यि दुई दल एकिकरण हुन आवश्यक छ।’
यही कार्तिक २६ र २७ गते विवेकशील नेपाली दलका नेपालस्थित सदस्यहरूले एसएमएसबाट र प्रवासमा रहेका सदस्यले इमेलबाट साझा पार्टीसँग एकीकरण गर्ने की नगर्ने भनी मतदान गरेका थिए।
मतसंग्रहको सम्पूर्ण व्यवस्थापन र संयोजन पार्टीको स्वायत्त निर्वाचन आयोगले गरेको विवेकशीलले जानकारी दिएको छ।
दलका अर्काएक शीर्ष नेताले सात सय मतदानतमा सहभागी हुन पाउने सदस्यमध्ये ६ सय मतदाता सदस्यले मतदान गरेका थिए । नेताले भने,‘निश्चित क्राइटेरिया पूरागरेका सदस्यले भोटिङमा सहभागि हुनुभयो।’
विवेकशील नेपाली दलको विधानबमोजिम सहभागितामूलक लोकतन्त्रको अभ्यास गर्दै सार्वभौम सदस्यहरूको दुई तिहाइ मतले अनुमोदनपछि मात्रै एकीकरणको निर्णय पारित हुने जानकारी दिएको छ।
दलका नेता पुकार बलमे भने,‘दुई तिहाइ मतले पार्टी एकीकरण हुने वा नहुने भन्ने निर्णय हुने छ।’ यसको लागि एकीकरण, सम्मिलन तथा सहकार्य सम्बन्धी नियमावली र निर्वाचन कार्यविधि र आचारसंहिता बनाएर विधि–पद्धति बमोजिम तयारी गरेको हो।
मत परिणाम मतदान सकिएको ४८ घण्टाभित्र सार्वजनिक गर्ने निर्वाचन आयोगले जानकारी दिएको छ।
‘वैकल्पिक सुसंस्कृत राजनीति भनेको भाषण र दस्ताबेजमा मात्र नभएर अभ्यासमा पनि सहभागितामूलक लोकतन्त्र, सदस्यहरूको सार्वभौमिकता र नागरिक केन्द्रित सङ्गठन हो भन्ने हाम्रो दृढ विश्वास छ’ विज्ञप्तिमा भनिएको छ।
अध्यक्ष मिलन पाण्डेले जारी गरेको विज्ञप्तिमा भनिएको छ,‘शीर्ष नेताहरू मात्र मिलेर पार्टी एकीकरण गर्ने प्रचलनलाई तोड्दै विवेकशील नेपाली दलले आम सदस्यहरूको मतमार्फत एकीकरणको निर्णय गर्दै छ।’
यो मतसंग्रह एउटा दलको आन्तरिक अभ्यास मात्र नभएर नेपालको राजनीतिक इतिहासमा सदस्यहरूको सार्वभौमिकता र दलहरूभित्रको आन्तरिक लोकतन्त्रको उच्चतम् अभ्यासको व्यवहारिक संस्थापनाको रूपमा इतिहासमा लिपिबद्ध हुने विवेकशील नेपाली दलको तर्क छ। नेपालको इतिहासमा केही शीर्ष नेतृत्वले मात्रै पार्टी एकीकरण गर्ने परम्परालाई विवेकशीलले मतदान गरेर उदाहणीय प्रणालीको विकास गरेको नेता बमको दाबी छ।
बमले भने,‘हामीले उच्चतम लोकतन्त्रको. अभ्यास गरेका छौं। लोकतान्त्रिक अभ्यास विवकशीलले सुरु गरेको छ।’ नेपालमा शीर्ष नेताले मात्रै निर्णय गर्ने परिपाटीको विवेकशीलले अन्त्य गरेको दलको दाबी छ।
कात्तिक २८, २०७७ शुक्रबार १४:२८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।