जोखिम भत्ता नपाएपछि ७ डाक्टरले दिए राजीनामा

जोखिम भत्ता नपाएपछि ७ डाक्टरले दिए राजीनामा

बुटवल धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्थायी अस्पतालमा कार्यरत ७ जना डाक्टरले कोरोना जोखिम भत्ता नपाएपछि राजीनामा दिएका हुन्।

अस्पतालमा करारमा कार्यरत ७ जना मेडिकल अधिकृतले राजीनामा दिएपछि उपचार सेवा प्रभावित भएको अस्पतालले जनाएको छ।

लुम्बिनी प्रदेशको सामाजिक विकास मन्त्रालयले लुम्बिनी प्रादेशिक अस्पताललाई जोखिम भत्तावापतको रकम पठाएपनि आफूहरुले नपाएको एकजना मेडिकल अधिकृतले बताए।

तीन महिनादेखिको जोखिम भत्ता नपाएको भन्दै उनीहरुले राजीनामा दिएको जनाइएको छ। 

डाक्टरहरुले राजीनामा दिएपछि सामाजिक विकास मन्त्री सुदर्शन बरालले तिहारपछि जोखिम भत्ता उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन्। 

छलफलमा मन्त्रीले जोखिम भत्ता उपलब्ध गराउने प्रतिबद्धता जनाए पनि डाक्टरहरु काममा फर्केका छैनन्।

लुम्बिनी प्रादेशिक अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले तिहारलगत्तै जोखिम भत्ता दिने अस्पतालले प्रतिबद्धता जनाए पनि मेडिकल अधिकृत काममा नफर्किँदा सेवा प्रभावित भएको बताए। 

‘हामीले तिहारलगत्तै दिन्छौं भनेकै छौं तर उहाँहरु काममा फर्किन मान्नु भएको छैन। फेरि आग्रह गर्छौ’, उनले भने। 

मेडिकल अधिकृतले काम छाडेपछि आईसीयूको उपचार सेवा प्रभावित भएको अस्पतालले बताएको छ।

जोखिम भत्ता नपाउँदा सम्म काममा नफर्किने डाक्टरहरुले बताएका छन्।

कात्तिक २७, २०७७ बिहीबार १६:००:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।