काठमाडौं प्रशासनमा तिहारपछि बार अनुसार सेवा
प्रमुख जिल्ला अधिकारी जनकराज दाहालसहित कार्यालयका कर्मचारीकमा कोरोना संक्रमण देखिएपछि प्रशासनले अत्यावश्यक बाहेकका सेवा कार्तिक २५ बाट रोकेको थियो।
यससँगै नागरिकता,राहदानी सँस्था दर्ता तथा नविकरण लगायतका कामहरु रोकिएका थिए। बिहीबार प्रशासनले एक सूचना जारी गरी मंसीर ३ गतेबाट स्वास्थ्य सजगता अपनाएर सेवा सुचारु गर्ने जानकारी दिएको हो।
प्रशासनले कामको बर्गिकरण गरी टोकन प्रणालीका आधारमा नगरपालिका अनुसार निश्चित बारका आधारमा सेवा दिन प्रवाह गरिने जानकारी दिएको छ।
प्रशासकीय अधिकृत कमलप्रसाद पाण्डेले जारी गरेको सूचनामा शान्ति सुरक्षा,विपद् व्यवस्थापन लगायतका काम भने सबै कार्यालय दिनमा सुचारु रहने जानकारी दिईएको छ।
प्रशासनको सूचना अनुसार नागरिकता प्रमाणपत्र, नागरिकता प्रतिलिपि, नावालिग परिचयपत्र, राहदानी, हातहतियार दर्ता नवीकरणका लागि आइतबार काठमाडौं महानगरपालिका वडा नं.१ देखी वडा नं.११ सम्मलाई,सोमबार कीर्तीपुर, नागार्जुन, चन्द्रागिरी नगरपालिका, मंगलबार काठमाडौं महानगरपालिका वडा नं.१२ देखी वडा नं. २१ सम्मलाई बुधबार बुढानिलकण्ठ, टोखा, कागेश्वरी मनहरा नगरपालिका, बिहीबार काठमाडौं महानगरपालिका वडा नं. २२ देखी ३२ सम्मलाई, र शुक्रबार गोकर्णेश्वर, दक्षिणकाली, शंखरापुर, तारकेश्वर नगरपालिकाका लागि बर्गिकरण गरिएको छ।
त्यस्तै संघ संस्था दर्ता सोमबार र बुधबार मात्र,संस्था नवीकरणका लागि आइतबार, मंगलबार, विहीबार र पत्रपत्रिका र छापाखाना दर्ता र विधान संशोधनका लागि शुक्रबारको समय तोकिएको छ।
प्रमुख जिल्ला अधिकारी दाहालसहितका संक्रमित कर्मचारीहरु संक्रमणमुक्त भएसंगै प्रशासनले सजगता अपनाएर सेवा प्रवाह गर्ने निर्णय गरेको हो।
कात्तिक २७, २०७७ बिहीबार १५:३८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।