उद्योग वाणिज्य महासंघमा कसले मार्ला बाजी ?

उद्योग वाणिज्य महासंघमा कसले मार्ला बाजी ?
नेपाल उद्योग वाणिज्य महासंघमा भावी नेतृत्वका लागि उम्मेदवारी घोषणा गरेका वर्तमान उपाध्यक्षद्वय चन्द्रप्रसाद ढकाल र किशोर प्रधान (दायाँ)।

काठमाडौं : सहमति जुटाउने प्रयासबीच नेपाल उद्योग वाणिज्य महासंघमा भावी नेतृत्वका लागि वर्तमान कार्यसमितिका दुई उपाध्यक्षबीच भिडन्त हुने सम्भावना बढ्दै गएको छ।

महासंघको वरिष्ठ उपाध्यक्षका लागि वर्तमान कार्यसमितिका उपाध्यक्षद्वय चन्द्रप्रसाद ढकाल र किशोर प्रधानले आआफ्नो उम्मेदवारी घोषणा गरिसकेका छन्। दुवैजना यतिबेला देश दौडाहामा छन्।

दुवै प्रत्यासी जुन रफ्तारमा चुनाव प्रचारमा जुटेका छन्, त्यसले भिडन्तको सम्भावना बलियो बनाएको छ। यद्यपि महासंघका केही पूर्वअध्यक्षहरूले सहमति निर्माण गर्न प्रयास जारी राखेका छन्। अन्तिम समयसम्म पनि प्रयास जारी राखिने र सकेसम्म चुनाव गर्नुनपर्ने वातावरण तयार पारिने उनीहरुको भनाइ छ।

महासंघको ५४औं वार्षिक साधारणसभा मंसिर १० देखि १३ गतेसम्म काठमाडौंमा हुँदैछ। १० गते उद्घाटन र ११ गते बन्द सत्र सञ्चालन हुनेगरी कार्यतालिका बनाइएको छ भने मतदान १३ गते हुनेछ।

साधारणसभाले वरिष्ठ उपाध्यक्षसहित तीन उपाध्यक्ष र कार्यसमिति सदस्यहरु निर्वाचन गर्नेछ। मतदानमा देशभारिका झन्डै चार सय ५० जना उद्यमी व्यवसायी प्रतिनिधिले भाग लिनेछन्। उम्मेदवारी मनोनयन दर्ता गर्ने अन्तिम मिति मंसिर ४ गतेलाई तोकिएको छ। महासंघको विधानअनुसार वरिष्ठ उपाध्यक्ष आगामी कार्यकालका लागि स्वतः अध्यक्ष हुनेछ। त्यसैले उद्योग वाणिज्य महासंघमा वरिष्ठ उपाध्यक्ष पदले विशेष महत्त्व राख्छ ।

ढकाललाई पश्चिमको साथ, प्रधानलाई पूर्वको

प्यानल नै तयार पारेका प्रतिस्पर्धामा होमिएका ढकाल र प्रधानमध्ये को बलियो भन्ने अड्कलबाजी पनि गर्न थालिएको छ। सबै क्षेत्रका मतदाता उद्योगी व्यवसायी खुलिनसकेको अवस्थामा कस्को पल्ला भारी भनेर तत्काल भनिहाल्न अलिक हतार हुन्छ।

ढकाल व्यापार व्यवसायको देशव्यापी सञ्जाल बनाएका र राजनीतिक पहुँच पनि भएका व्यक्ति हुन्। अर्कोतिर प्रधानले सहकर्मीबीच इमानदार र स्पष्ट वक्ताको छवि बनाएका छन्।

दुई प्रतिस्पर्धीमध्ये ढकालले सुदूरपश्चिमबाट प्रचार अभियान सुरु गरेका छन् भने प्रधानले पूर्वबाट। प्रधान जनकपुरमा प्रचारप्रसारको कार्यक्रम सकेर बुटवलतिर लाग्दा ढकाल सुदूरपश्चिमपछि पोखरामा आयोजित कार्यक्रममा समेत सहभागी भइसकेका छन्। गण्डकी ढकालको गृहप्रदेश पनि हो र उनको विजयका लागि महत्त्वपूर्ण आधार पनि यही प्रदेशले तय गर्ने आकलन गरिएको छ। गण्डकी प्रदेशका उद्यमी व्यवसायीले ढकाललाई समर्थन गर्ने प्रतिबद्धता जनाएका छन्। सुदूरपश्चिमका जिल्ला नगर अध्यक्षहरूले पनि ढकाललाई सहयोग गर्ने प्रतिबद्धता जनाएको बताइएको छ।

प्रधान भने प्रदेश १ र प्रदेश २ तर्फ बढी केन्द्रित भएका छन्। उनी विराटनगरका व्यवसायी भएकाले पनि प्रदेश १ र सँगै जोडिएको प्रदेश २ लाई प्राथमिकतामा राखेका हुन्। प्रदेश २ को राजधानी जनकपुरमा आयोजित कार्यक्रममा त्यहाँका व्यवसायीले प्रधानलाई सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।

प्रधानले बिजुलीका पोल उत्पादन गर्ने व्यवसायीहरुको नेतृत्व पनि गर्दै आएका छन्। उनी उद्योग वाणिज्य महासंघमा जिल्ला तथा नगर उद्योगको प्रतिनिधित्व गर्दै अगाडि बढेका हुन्। उनका प्रतिस्पर्धी ढकाल भने एसोसिएटतर्फबाट उद्योग वाणिज्य महासंघको नेतृत्व यात्रामा उदाएका हुन्। ढकाल बैंकरका साथै आईएमई मनी ट्रान्सफर कम्पनीका प्रवद्र्धक हुन्। चन्द्रागिरि केवल कार पनि उनले नै सञ्चालनमा ल्याएका हुन्।

वरिष्ठ उपाध्यक्षमा दोस्रोपल्ट उम्मेदवार बन्दै प्रधान

वरिष्ठ उपाध्यक्षमा प्रधान दोस्रोपटक उम्मेदवार बन्न लागेका हुन्। यसअघिको ५३ औं साधारणसभामा पनि उनी वरिष्ठ उपाध्यक्षमा उम्मेदवार बनेका थिए। त्यति बेला उनी वर्तमान कार्यसमितिका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छासँग पराजित भएका थिए। पछि उपनिर्वाचनबाट विजयी भएर प्रधान उपाध्यक्ष बन्न सफल भए।

महासंघमा जिल्ला तथा नगरतर्फबाट उपाध्यक्षमा विजयी प्रमोद श्रेष्ठले स्थानीय तहको निर्वाचमा उम्मेदवारी दिएपछि उनलाई पदबाट हटाइएको थियो। सोही पदमा भएको उपनिर्वाचनबाट प्रधान उपाध्यक्ष निर्वाचित भएका थिए। उनका प्रतिद्वन्द्वी ढकाल भने वर्तमान कार्यसमितिमा एसोसिएट तर्फबाट निर्विरोध उपाध्यक्ष निर्वाचित भएका हुन्।

विधानअनुसार महासंघको ५४ औं साधारणसभा गत चैतमै सम्पन्न हुनुपर्थ्यो। कोरोना संक्रमण सुरु भएपछि साधारणसभा सरेर मंसिरमा पुगेको हो। यसअघि जेठ र साउनमा साधारणसभा गर्ने तयारी भए पनि कोरोनाकै कारण सम्भव भएन। कोरोना संक्रमण नियन्त्रण गर्न सरकारले चैत ११ देखि सरकारले मुलुकभर लकडाउन घोषणा गरेको थियो।

कात्तिक २५, २०७७ मंगलबार १९:१६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।