३७ स्थानीय तहले अझै पेश गरेनन् बजेट

३७ स्थानीय तहले अझै पेश गरेनन् बजेट

काठमाडौं : देशभरका ३७ स्थानीय तह चालू आर्थिक वर्षको बजेट पेश गर्न असफल भएका छन्। 

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता वसन्त अधिकारी आन्तरिक विवाद र बेवास्ताका कारण ती स्थानीय तहले बजेट पेश नगरेको बताउँछन्। ‘बजेट पेश नगरेका स्थानीय तहमा मेयर र उपमेयरबीच आन्तरिक विवाद देखिएको छ,’ उनले भने। 

मन्त्रालयले पटकपटक ताकेता गर्दा पनि ती स्थानीय तहले बजेट पेश गर्नेबारे चासो नदेखाएको उनले बताए। 

स्थानीय तहले असार १० गतेभित्र बजेट पेस गर्नु पर्ने प्रावधान छ। 

मन्त्रालयका अनुसार बजेट पेश नगर्नेमा प्रदेश २ का स्थानीय तह सबैभन्दा बढी छन्। त्यहाँका ३२ स्थानीय तहले बजेट पेश नगरेको मन्त्रालयले जनाएको छ। यस्तै, बाग्मती र प्रदेश १ का दुई दुई तथा सुदूरपश्चिमको एक स्थानीय तहले बजेट ल्याएका छैनन्। 

मन्त्रालयका अनुसार बजेट पेश नगर्नेमा बाग्मतीमा रामेछापको लिखु तामाकोशी र रसुवाको आमाछोदिङमो गाउँपालिका छ। यसैगरी, प्रदेश १ मा संखुवासभाको भोटोखोला र मेन्छयायेम गाउँपालिका तथा सुदूरपश्चिममा बाजुराको बूढीगंगा गाउँपालिका छ। अघिल्लो वर्ष १६ स्थानीय तहले बजेट पेस गर्न असफल भएका थिए। 

स्थानीय सरकार सञ्चालन ऐन २०७४ मा महानगर, उपमहानगर, नगर र गाउँपालिकाले असार १० गतेसम्म बजेट पेस गर्नु पर्ने र त्यसको १५ दिनभित्र नगर÷गाउँसभाबाट पास गर्नु पर्ने व्यवस्था छ। नगरपालिका, गाउँपालिकाले सभाबाट स्वीकृत नगरी कुनै आम्दानी र खर्च गर्न नपाइने व्यवस्था छ। 

तोकिएको समयमा विवरण प्राप्त नदिने स्थानीय तहको अनुदानसमेत रोक्न सक्ने प्रावधान छ। 
 

कात्तिक २५, २०७७ मंगलबार १८:४७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।