ओलीले २७ गते सचिवालय बैठक राख्ने आशा गर्दै सकियो धुम्बाराही बैठक

ओलीले २७ गते सचिवालय बैठक राख्ने आशा गर्दै सकियो धुम्बाराही बैठक

काठमाडौं : सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहालले मंगलबार बोलाएको सचिवालय बैठक प्रधानमन्त्रीसमेत रहेका अर्का अध्यक्ष केपी शर्मा ओलीले यही कार्तिक २७ गते सचिवालय बैठक बोलाउने आशा गर्दै सकिएको छ। 

अपरान्ह पार्टी कार्यालय धुम्बाराहीमा बसेको दाहालसहित ५ सचिवालय सदस्य उपस्थित अनौपचारिक बैठकले ओलीले कार्तिक २७ गते सचिवालय बैठक बोलाउन आशा गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए।

‘भोलि प्रधानमन्त्री उपत्यकाबाहिर जाने कार्यक्रम रहेछ। पर्सि २७ गते अध्यक्ष ओलीले सचिवालय बैठक राख्नुहुन्छ भन्ने आशा छ,’ बैठकपछि प्रवक्ता श्रेष्ठले पत्रकारहरूसंग भने।

बैठकमा दाहालसहित झलनाथ खनाल, माधवकुमार नेपाल, वामदेव गौतम, र श्रेष्ठ मात्र सहभागी थिए।

यसअघि धुम्बाराहीमै बसेको ५ जनाको सचिवालय बैठकले सचिवालय बैठक राख्न लिखित रूपमै अध्यक्ष ओलीसँग माग गरेका थिए।
मंगलबार बैठक बस्नुअघि प्रचण्डले ओलीसँग भेटेका थिए।

भेटमा दाहालले ओलीसंग पर्सि २७ गते सचिवालय बैठक बस्नुपर्छ भनेको श्रेष्ठले बताए।

‘हामी अपेक्षा गर्छौं कि प्रचण्डले प्रस्ताव गरेअनुसार पर्सि बैठक बस्ने कुरामा अध्यक्ष ओलीले सहमतिकै आधारमा सचिवालय बैठक राख्नु हुनेछ’ श्रेष्ठले भने
 

कात्तिक २५, २०७७ मंगलबार १८:०३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।