फेसबुकमा ‘सुसाइड नोट’ लेखेर बेपत्ता भएका चिकित्सक सकुशल भेटिए
काठमाडौं : फेसबुकमा सुसाइड नोट पोस्ट गरेर बेपत्ता भएका एक चिकित्सक सकुशल फेला परेका छन्।
भक्तपुरबाट मंगलबार बिहानै वेपत्ता भएका ३३ वर्षीय डाक्टर दिगम्बर झालाई प्रहरीले काभ्रेमा सकुशल फेलापारेको हो।
भक्तपुरको ‘द डेन्टल सिटी’ अस्पतालका निर्देशकसमेत रहेका झालाई काभ्रेको पाँचखाल र दोलालघाटको बीचमा ५५ किलो भन्ने स्थानमा फेला पारेको भक्तपुर प्रहरी प्रमुख एसपी तारादेवी थापाले जानकारी दिइन्।
‘उहाँ फेसबुकमा सुसाइट नोट लेखेर मंगलबार बिहानदेखि बेपत्ता हुनु भएको खबर आएलगत्तै प्रहरीले खोजी थालेको थियो’ थापाले भनिन्,‘प्रहरीले खोज्दै जाँदा सडक किनारमा गाडि रोखेर झोक्राएको अवस्थामा दिउसो साढे १ बजे फेला पारेको हो।’
बिहान ५ बजेतिर घरबाट निस्किएका झाको मोबाइलको अन्तिम लोकेसन काभ्रेको पनौतीमा देखिएको थियो। त्यसपछि भने उनको मोबाइल अफ भएको छ।
उनले प्रयोग गर्ने एनसेलको सीमका आधारमा लोकेशन पत्ता लागेको प्रहरीले जनाएको छ।
सुसाइड नोटमा उनले आफू परिवारका कारण आत्महत्या गर्न बाध्य भएको बताएका छन्।
प्रहरीको प्रारम्भिक अनुसन्धानमा पनि उनको पछिल्लो समय घर परिवारसँगको सम्बन्ध राम्रो नभएको खुलेको छ।
कात्तिक २५, २०७७ मंगलबार १४:४२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।