कोरोना भाइरसविरुद्धको पहिलो खोप ९० प्रतिशत प्रभावकारी भएको दाबी
काठमाडौं : कोरोना भाइरस (कोभिड-१९)विरुद्धको पहिलो खोप ९० प्रतिशत प्रभावकारी भएको दाबी गरिएको छ।
उत्पादनकर्ता कम्पनी फाइजर र बायोनटेकलले सुरुवाती विश्लेषणमा खोप ९० प्रतिशत प्रभावकारी भएको जनाएका छन्।
बिबिसीका अनुसार खोप ६ देशका ४३ हजार मानिसमा परीक्षण गरिएको छ। अमेरिका, ब्राजिल, जर्मनी, अर्जेन्टिना, दक्षिण अफ्रिका र टर्कीमा भएको परीक्षणमा सात दिनभित्र ९० प्रतिशत मानिसमा भाइरसविरुद्ध रक्षात्मक प्रणाली विकसित भएको उत्पादनकर्ता कम्पनीले जनाएका छन्।
बिबिसीका अनुसार फाइजरले यो वर्षको अन्त्यसम्म खोपको ५ करोड डोज उपलब्ध गराउन सक्ने जनाएको छ। र, सन् २०२१ अन्त्यसम्म १.३ अरब डोज तयार हुनेछ।
फाइजरका अध्यक्ष डा. एल्बर्ट बोर्लाले भनेका छन्, ‘हामी विश्वभरका मानिसलाई यो संकटबाट बाहिर निकाल्ने प्रयासको करिब नजिक पुगेका छौं।’
बायोनटेकका प्राध्यापक उगूर साहीनले यस नतिजालाई ‘मिलको पत्थर’ बताएका छन्।
कम्पनीले नोभेम्बरको तेस्रो हप्ता भ्याक्सिनलाई नियामक निकायमा पेश गर्न सकिने गरि तयारी गरेको बताएको छ।
एजेन्सी
कात्तिक २४, २०७७ सोमबार २२:१०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।