दीक्षान्त समारोहमा सहभागी हुन तिहारअघि आवेदन दिनु पर्ने 

दीक्षान्त समारोहमा सहभागी हुन तिहारअघि आवेदन दिनु पर्ने 

काठमाडौं : त्रिभुवन विश्वविद्यालय (त्रिवि)को ४६ औं दीक्षान्त समारोहमा भाग लिन तिहारअघि नै आवेदन दिनुपर्ने भएको छ। 
 

त्रिविले सूचना सार्वजनिक गर्दै मंसिर १ गतेसम्म आवेदन दिनु पर्ने जनाएको छ। पुसमा हुने समारोहमा सहभागी हुन २०७६ असार १ गतेदेखि २०७७ जेठ ३२ गतेसम्म सेमेस्टर र वार्षिक परीक्षा प्रणाली अनुसार स्नातक, स्नातकोत्तर तह र एमफिल तह उत्तीर्ण गरी ट्रान्स्क्रिप्ट लिएका विद्यार्थीले आवेदन दिन सक्ने जनाएको छ। 

यसैगरी, सोही अवधिभित्र विद्यावारिधि पूरा गरेका विद्यार्थीले पनि आवेदन दिन सक्ने त्रिविले जनाएको छ। आवेदन अनलाइनबाट आउँदो मंसिर १ गतेभित्र भरिसक्नु पर्ने जनाइएको छ।  

दीक्षान्त समारोहमा भाग लिन स्नातक तह पूरा गरेका विद्यार्थीले ३ हजार ७०० रूपैयाँ, स्नातकोत्तर तह र एमफिल पूरा गरेकाले ४ हजार २०० रूपैयाँ र विद्यावारिधिले ४ हजार ७०० रूपैयाँ शुल्क बुझाउनु पर्ने छ। 

यसरी बुझाएको शुल्कमध्ये १ हजार ५०० रूपैयाँ गाउनको धरौटी बापतको हो। समारोहमा सहभागी हुन चाहने विद्यार्थीले दुई जना अभिभावकलाई कार्यक्रममा सहभागी गराउन सक्ने जनाइएको छ। 

गत वर्ष भएको दीक्षान्त समारोहमा ९ हजार ५०४ विद्यार्थी सहभागी भएको त्रिविले जनाएको छ। 
 

कात्तिक २४, २०७७ सोमबार १९:३५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।