‘कक्षा १२ को परीक्षा मूल्यांकनका तीन आधार तय’
काठमाडौं : सरकारले कक्षा १२ को परीक्षा मूल्यांकनका आधार ३ वटा तय गरिएको जनाएको छ। मंसिर ९ गतेबाट सञ्चालन हुने परीक्षाबाट ४०, कक्षा ११ सिकाई उपलब्धिबाट ४० र बाँकी २० प्रतिशत आन्तरिक मूल्यांकनबाट गरिने तय भएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ।
मन्त्रालयका प्रवक्ता दीपक शर्माले परीक्षा केन्द्रमा उपस्थित भएर ४० प्रतिशत पूर्णांकका लागि लिइने भएको बताए। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले आइतबार राष्ट्रिय परीक्षा बोर्डका पदाधिकारीसँगको छलफलमा विद्यार्थी भएको स्थानबाट परीक्षा सञ्चालन गर्न निर्देशन दिएको प्रवक्ता शर्माले बताए।
सरकारले निर्धारण गरेको स्वास्थ्य मापदण्डमा रहेर परीक्षा सञ्चालन हुने र केही समस्या आए परीक्षा सञ्चालन गरेको विद्यालयले व्यवस्थापन गर्न सकेत निर्देशन दिइएको छ। परीक्षालाई सफल बनाउन शिक्षा विकास तथा समन्वय इकाइ र सम्बन्धित स्थानीय तहलाई प्रभावकारी बनाइने भएको मन्त्रालयले जनाएको छ।
परीक्षा मंसिर ९ देखि १६ गतेसम्म सञ्चालन हुने परीक्षाको तयारी, विद्यार्थीको अवस्था र जानकारीका लागि बोर्ड १ महिनाअघि नै सूचना सार्वजनिक गरेर तथ्यांक संकलन गरेको थियो। मन्त्रालयमा भएको छलफलमा सचिव गोपीनाथ मैनाली, बोर्डका अध्यक्ष डा. चन्द्रमणि पौडेल र मन्त्रालयका सहसचिव दीपक शर्माको सहभागिता रहेको थियो।
बोर्डले कोरोना भाइरस (कोभिड-१९) संक्रमण भएका परीक्षार्थीलाई परीक्षामा सामेल नहुन अनुरोध गरेको छ। संक्रमण भएका विद्यार्थीलाई छुट्टै व्यवस्था गर्ने मन्त्रालयले जनाएको छ।
कात्तिक २४, २०७७ सोमबार १९:०९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।