‘बेल्जियममा नेपाली कार्पेट र हस्तकला निर्यातको सम्भावना’

‘बेल्जियममा नेपाली कार्पेट र हस्तकला निर्यातको सम्भावना’
तस्बिर : रासस।

काठमाडौं : बेल्जियमका लागि नेपाली राजदूत गेहेन्द्र राजभण्डारीले बेल्जियममा नेपाली कार्पेट र हस्तकलाका वस्तुहरूको निर्यात व्यपारको सम्भावना राम्रो रहेको बताउँदै यसलाई प्रवर्द्धन गर्न नेपाली व्यवसायीलाई सुझाव दिएका छन्।प्रवर्द्धन

नेपाल उद्योग परिसंघका पदाधिकारी र बेल्जियमका लागि नेपाली राजदूत राजभण्डारीबीच सोमबार भएको छलफलमा बेल्जियम नेपाली कार्पेट, हस्तकला र पर्यटन प्रवर्द्धनका लागि उपयुक्त रहेको सुझाव दिएका हुन्।

सो अवसरमा राजदूत राजभण्डारीले नेपाल र बेल्जियमबीच सुसम्बन्ध रहँदै आएको बताउँदै दुई देशबीचको सम्बन्धलाई थप प्रगाढ बनाई नेपाली कार्पेट र हस्तकलाका वस्तुहरूको निर्यात व्यपारलाई प्रवद्र्धन गर्नु पर्ने आजको आवश्यकता रहेको बताए।

बेल्जियम र युरोपियन युनियनमा आवद्ध राष्ट्रहरूमा नेपालको धार्मिक, सांस्कृतिक र पर्यटनको गन्तव्य स्थललाई उजागर गर्ने प्रकारका कार्यक्रम र प्रचारात्मक सामग्रीहरूको माध्यमबाट नेपालमा पर्यटन व्यवसाय प्रवद्र्धनको लागि पहल गर्नसमेत परिसंघका अध्यक्ष सतिशकुमार मोरले अनुरोध गरे।

उक्त भेटमा परिसंघका अध्यक्ष मोरले परिसंघले आर्थिक कूटनीतिका माध्यमबाट वैदेशिक लगानी प्रवद्र्धन गर्नु पर्ने आजको आवश्यकता रहेको राजदूतसमक्ष जानकारी गराएका थिए। 

वैदेशिक लगानी भित्र्याउनको लागि प्रक्रियागत झण्झट र कानुनी अवरोधहरूलाई सहज बनाउन परिसंघले पहल गरीरहेको बताउँदै उनले सरकारबाट समेत सकारात्मक सहयोगको अपेक्षा गरेको बताए।

अध्यक्ष मोरले स्वदेशी पूँजीलाई परिचालन गरी रोजगारीको सृजना गर्न र उद्योगहरूको क्षमता अभिवृद्धि गरी औद्योगिकीकरणमार्फत देशको अर्थतन्त्रलाई मजबुत बनाउन परिसंघ सधै क्रियाशील रहेको बताए।

छलफलमा परिसंघका वरिष्ठ उपाध्यक्ष विष्णुकुमार अग्रवालले नेपालले अन्य मुलुकहरूमा जस्तै बेल्जियम र युरोपियन युनियनमा आवद्ध देशहरूमा पनि नेपालले पर्यटन प्रवर्द्धन, हस्तकलाका सामग्रीहरूको प्रदर्शनी र उनी गलैचाहरूको निर्यातलाई प्रवर्द्धन गर्न सके राष्ट्रिय अर्थतन्त्रमा योगदान पुग्न सम्भावना रहेको बताए। 

छलफलका क्रममा राजदूत राजभण्डारीले लगानी विस्तार र आर्थिक विकासको लागि सरकार र निजी क्षेत्रको सधैं सहकार्य हुनु पर्ने बताउँदै वैदेशिक लगानी विस्तारमा आफूले पहल गर्ने बताए। 

त्यसैगरी, सम्भाव्यता बोकेका नेपाली उत्पादनहरूको निर्यात प्रवर्द्धनलगायत नेपाल वायु सेवा निगमको उडानलाई सहज बनाउनको लागि आफूले सकेको पहल गर्ने आश्वासन दिए। उनले आर्थिक मेरुदण्डको रूपमा रहेको निजी क्षेत्रका अपेक्षाहरूलाई पूरा गर्नको लागि नीतिगत व्यवस्थाहरूलाई सहज बनाइ कार्यान्वयनको लागि आफूले योगदान पुर्याउने बताए। 

कात्तिक २४, २०७७ सोमबार १७:५४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।