दाहाल पक्षका सदस्य नगएपछि ओलीले बोलाएको कार्यदलको बैठक बस्न सकेन

दाहाल पक्षका सदस्य नगएपछि ओलीले बोलाएको कार्यदलको बैठक बस्न सकेन

काठमाडौं : पूर्व माओवादीबाट कार्यदल सदस्य रहेका दुबै जना उपस्थित नभएपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग आज सोमबार छलफल गर्ने भनिएको विघटित कार्यदलका सदस्यहरुको बैठक बस्न सकेन। 
 

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा कार्यदलका सदस्यहरुसँग छलफल हुने भनिए पनि जनार्दन शर्मा तथा पम्फा भुषाल सहभागी नभएपछि बैठक बसन नसकेको हो।

शर्मा कोरोना संक्रमित छन्। कार्यदलका दुई जना सदस्य सहभागी नभएपछि बैठक बस्न नसकेको सदस्य सुरेन्द्र पाण्डेले जानकारी दिए।

‘हामीहरु चार जना बालुवाटारमा आधा घण्टा कुरेर बस्यौं, दुई जना साथीहरु नआएपछि बैठक बस्न सकेन’ पाण्डेले भने।

विघटित कार्यदलमा तीन प्रमुख नेताहरुका दुई–दुई जना सदस्य रहेका थिए। अध्यक्ष ओलीको तर्फबाट महासचिव विष्णु पौडेल र सचिवालय सदस्य शंकर पोखरेल, वरिष्ठ नेता माधवकुमार नेपालको तर्फबाट स्थायी कमिटी सदस्य भीमबहादुर रावल र सुरेन्द्र पाण्डे तथाअध्यक्ष पुष्पकमल दाहालको तर्फबाट नेता शर्मा र भुषाल सदस्य थिए।

गत भदौमा गठन भएको कार्यदलले १५ बुँदे प्रस्ताव बुझाएको थियो। सोहीअनुसार दुई अध्यक्षले त्यसमा केही बुँदा थप गरी संयुक्त प्रस्ताव बनाएपछि गत भदौ २६ मा सम्पन्न स्थायी कमिटी बैठकले सो प्रस्ताव अनुमोदन गरेको थियो।

सचिवालय बैठकले पनि त्यसलाई अनुमोदन गरेको थियो। ओलीले आफू सबै तहमा अल्पमतमा परेपछि संकट समाधानका लागि भन्दै फेरि एक पटक पूरानो कार्यदल सक्रिय पार्ने प्रयास गरेका छन्।

कार्यदलले चैतमा महाधिवेशन गर्ने, सरकारको जिम्मेवारी ओलीलाई र पार्टीको सम्पूर्ण जिम्मेवारी प्रचण्डलाई दिने लगायतका सुझाव दिएको थियो ।

बैठकबाट विवाद समाधान गर्न सुझाव

यसैबीच नेकपामा देखिएको आन्तरिक विवाद बैठकमार्फत समाधान गर्न पार्टीको अनुशासन आयोगले शिर्ष नेतृत्वलाई आग्रह गरेको छ।

केन्द्रीय अनुशासन आयोगका अध्यक्ष अमृत कुमार बोहराले सोमबार एक विज्ञप्तिमार्फत तत्काल बैठक राखेर विवाद समाधान गर्न आग्रह गरेका हुन्। पार्टीको बैठक बोलाउने विषयलाई प्रतिष्ठाको विषय बनाएर बस्न नहुने उनको सुझाव छ।

पार्टी एकताका बाँकी काम अविलम्ब पुरा गर्नुपर्ने र भाका सारेर बस्नु नेतृत्वको कमजोरी भएको भन्दै उनले तत्काल पार्टीलाई चलायमान बनाउन पनि आग्रह गरेका छन्।

कात्तिक २४, २०७७ सोमबार १६:०८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।